कांग्रेस-एमालेलाई माओवादी सांसदको सुझाव : आउँदो चुनाव मिलेर लड्नू
राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर निर्वाचनमा जान सुझाव दिएका छन् ।
बिहीबारको राष्ट्रियसभा बैठकमा उनले नेपालमा अहिले दुई तिहाइको सरकार रहेकाले २०८४ को चुनावमा पनि दुईवटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गरे ।
‘नेपालमा अहिले करिव दुई तिहाइको सरकार छ । पहिलो पार्टी र दोस्रो ठूलो पार्टी सरकारमा छन् । दोस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ,’ उनले भने, ‘तर यो सरकारले के भन्छ भने विगतका सरकार अस्थिर भए, स्थिरताका लागि यो सरकार बनाएका हौं, पहिलो र दोस्रो पार्टी मिलेर भनेको छ । म आग्रह गर्न चाहन्छु, किन पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनुहुन्छ ? तपाईंहरू अर्को २०८४ को चुनावमा पनि दुईवटा पार्टी मिलेर जानुस् । त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने कांग्रेस एक नम्बर भएकाले कांग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशूल गर्नुस् । सबै देश कब्जा गर्नुस् ।’
अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि आग्रह उनले आग्रह गरे ।
संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न उनको सुझाव थियो । उनले समानुपातिक हटाउने र घटाउने नभई पूर्ण समानुपातिकमा जान आग्रह गरे ।
महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने उनको धारणा छ ।
सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाईको सरकार बनाएको भन्न नमिल्ने बताए । उनले नेपाली कांगे्रस नामको मात्रै लोकतन्त्रवादी बनेको आरोप लगाए ।
प्रतिक्रिया