भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुखले पाए सफाइ

भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीसहितका सबैले सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २१ जेठमा दर्ता गरेका पाँच मुद्दामा विशेष अदालतले बुधबार फैसला गर्दै सफाइ दिएको हो ।

मुद्दामा आर्थिक वर्ष ०७५ ७६ देखि नै वार्षिक रूपमा राजस्व हिनामिना गरेको अभियोग लगाइएको थियो। सबै मुद्दामा गरी एक अर्ब रुपैयाँ बिगो निर्धारण गरी मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको हो। यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाले फैसला गरेका हुन्।

इजलासले गोदावरी नगरपालिकाले कानुन बनाएर नदीजन्य पदार्थमा बागमती प्रदेशसभाले बनाएको कानुन भन्दा घटी कर निर्धारण गरेको भन्दै यो संवैधानिक व्याख्याको प्रश्न रहेको ठहर फैसलामा गरेको छ । अख्तियारले उनीहरूलाई प्रदेशसभाले निर्धारण गरेको भन्दा घटी कर संकलन गरेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको थियो ।

नगरपालिकाको आर्थिक ऐनले प्रदेशसभाले बनाएको कानुन भन्दा घटी कर निर्धारण गरेकाले यो भ्रष्टाचारको मुद्दा नभई संवैधानिक व्याख्याको प्रश्न रहेको विशेष अदालतको ठहर गरेको हो । इजलासले सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज नगर्दासम्म प्रदेशसभासँग बाझिएको गोदाबरी नगरपालिकाको आर्थिक ऐन खारेज हुन नसक्ने फैसला गरेको छ ।

प्रदेशसभासँग बाझिएको भनिएको कानून अस्तित्वमा रहेको र त्यही कानुन बमोजिमको कर असुल्दा भ्रष्टाचार भएको भन्न नमिल्ने फैसलाको संक्षिप्त रुपमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *