सशस्त्र प्रहरीका तीन महिला भलिबल खेलाडी सम्मानित, निरूताको एक तह बढुवा

सशस्त्र प्रहरी बल, नेपालले ‘काभा वुमन्स भलिबल नेसन्स लिग-२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई आज सम्मान गरेको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आज आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई सम्मान प्रदान गरे ।

सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरूता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहेका छन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेर देश र सङ्गठनको छवि उच्च राख्न खेलेको योगदानको कदरस्वरूप नगद पुरस्कारसहित सम्मान गरिएको बताए ।

यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा लिग सम्पन्न भएको थियो । उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी निरूता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको समेत जानकारी दिइयो । ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले आजै दर्ज्यानी चिह्न प्रदान गरे ।

यसअघि २२औँ सशस्त्र प्रहरी दिवस-२०७९ को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *