एक किलो बढी कोकिनसहित काठमाडाैंबाट दुई विदेशी नागरिक पक्राउ
प्रहरीले अवैध लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तान्जानियन पुरूष ५८ वर्षीय जुमा अब्दुल्ला मजी र भारतीय महिला के जुचोबेनी त्सोपो छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा बसेका जुमा अब्दुल्ला मजीको कोठा तलासी गर्दा झोलाभित्र ८० वटा क्याप्सुलमा रहेको १ किलो १ सय ४ ग्राम कोकिन बरामद भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै उक्त कोकिनका क्याप्सुलहरू डेलिभरी दिने क्रममा भारतीय नागरिक के जुचोबेनी त्सोपोलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
के जुचोबेनी त्सोपोले उक्त कोकिन भारततर्फ लैजान लागेको खुलेको छ ।
ब्यूरोका अनुसार बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८७ लाख रूपैयाँ हुन आउँछ ।
उनीहरूविरूद्ध काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूराेले जनाएको छ ।
प्रतिक्रिया