उपनिर्वाचनको लागि नाम दर्ता गर्न निर्वाचन आयोगको आह्वान

निर्वाचन आयोगले  स्थानीय तह उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति तोकिनु अगावै मतदाता नामावलीमा नाम दर्ता  गर्न आह्वान गरेको हो।

२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि  देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेका छन्।

२०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनपछि विभिन्न ३४ पद रिक्त रहेको जानकारी आयोगमा आएको  र त्यही अनुरुप उपनिर्वाचनको तयारी थालिएको आयोगका सहसचिव एवं प्रवक्ता रघुराम विष्टले जनाएका छन्।

स्थानीय तह निर्वाचन ऐन,२०७३ बमोजिम यसरी रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ। गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ ।

‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तसर्थ नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोग सबैमा आग्रह गर्दछ,’आयोगले भनेको छ।

आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएबमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता गर्न भनेको हो।

विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *