टिआरसी विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय (टिआरसी) विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताएका छन् ।

मंगलवार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रतिनिधि सभामा पेस गरिएको सो विधेयकबारे बुधवार (भोलि) राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ । प्रधानमन्त्री ओलीले नेताहरूले आफ्नो धारणा राखेपछि २ दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताए ।

उनले सो विधेयक संसदबाट पारित हुनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सो विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबी समेत गरे । उनले सो विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेको र त्यसलाई सफलताका साथ अघि बढाउने बताए ।

उनले भने ‘हामी टिआरसीसम्बन्धि सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास भएर आज प्रतिनिधि सभामा पेस भएको छ । त्यस सम्बन्धमा भोलि पोलिटिकल लिडरहरूले आफ्नो राय व्यक्त गर्ने सिलसिला चल्छ । र त्यसपछि त्यो १, २ दिनमा पास हुन्छ । र राष्ट्रिय सभामा जान्छ । र राष्ट्रिय सभाको प्रोसेस केही दिन लिएपछि मैले त्यो प्रतिवेदन अस्तीनै हामीले सानो कार्यदल बनाएका थियौँ ३ जनाको । त्यस कार्य दलले बुझाउँदाखेरि नै मैले भनेको थिए–यही अधिवेशनबाट हामी पास गर्छौं भनेर । यही अधिवेशनबाट हामी यसलाई पास गर्छौ । र यो एउटा ठोस उपलब्धिको रुपमा, कोशेढुंगाको रुपमा काम हुनेछ ।’

प्रधानमन्त्री ओलीले संक्रमणकालिन न्यायलाई सफलतापूर्वक अघि बढाउन नेपालले बाह्य नक्कल गरिरहन आवश्यक नभएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *