कुनैपनि बेला नेपालमा बंगलादेशको अवस्था आउनसक्छ, सजग रहनुस् : नेता कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए । उनले दुई तिहाइको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए ।

उनले सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताए ।

उनले भने ‘सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने  ? त्यसबारेमा सोच्नुपर्छ । सरकारले खर्च गरिरहेको छ तर ठिक ठाउँमा गइरहेको छैन । ठिक ठाउँमा पुर्याउन दबाब दिनुहोला । हाम्रो छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाइको सरकार थियो । जहाँको ग्रोथ ११ प्रतिशतले बढिरहेको थियो, अचानक घटना भयो । प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आयो । यो सामान्य घटना होइन । नेपालमा आर्थिक अवस्था जर्जर छ । राजश्व उठ्छ १०/११ खर्ब, चालु खर्चमा १२/१३ खर्ब हुन्छ । ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ । तर बंगलादेशको त्यो होइन । बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाइको सरकार थियो । त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनैपनि बेला केही हुनसक्छ, त्यतातिर पन निसर्त हुनुस् । किनभने सामाजिक सञ्जाल अहिले एकदम एग्रेसिपली विश्वमा आइरहेको छ, त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको छ ।’

नेता कोईरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *