भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण : द्विपक्षीय सहकार्यमा छलफल

नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश सचिव विक्रम मिस्री स्वदेश फर्किएका छन् । आइतबार बिहान नेपाल आएका भारतीय विदेश सचिव मिस्री सोमबार साँझ स्वदेश फर्किएका हुन् ।

विदेश सचिव मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । गत महिना विदेश सचिवको रुपमा कार्यभार सम्हालेपछि यो उनको पहिलो नेपाल भ्रमण हो ।

परराष्ट्र सचिव लम्साल र मिस्रीबीचकाठमाडौँको नक्सालस्थित हिल्टन होटलमा बिहान भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको बताइएको छ । भेटमा उनीहरुबीच भएको बृहत छलफलले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विभिन्न पक्षलाई समेटेको बताइएको छ । ।दुवै सचिवले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरुबारे छलफल भएको थियो । परराष्ट्र सचिव लम्सालले भ्रमणमा रहेका भारतीय प्रतिनिधिमण्डलका लागि दिवाभोजको पनि आयोजना गरेकी थिईन् ।

विदेश सचिव मिश्रीले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । राष्ट्रपति तथा प्रधानमन्त्रीलाई भारतका नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गर्दै उनले दुई देशबीचको द्विपक्षीय सहकार्यका विविध पक्षहरुमा भइरहेको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

विदेश सचिव मिश्रीले आज उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । यी भेटहरुमा विविध पारस्परिक लाभदायी क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ गर्ने तरिकाबारे छलफल भएको बताइएको छ ।

भेटघाटका क्रममा दुवै पक्षले ऐतिहासिक, साँस्कृतिक, सभ्यतागत तथा जनता–जनताबीचको सम्बन्धमा गाँसिएको भारत र नेपालबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धमाथि जोड दिए । दुवै पक्षले हालैको वर्ष द्विपक्षीय सहकार्य विशेष गरी कनेक्टिभिटीका विभिन्न क्षेत्र जस्तैं भौतिक, डिजिटल, ऊर्जा र जनता–जनताबीचको सम्बन्धमा हासिल उल्लेखनीय प्रगतिमा सन्तोष व्यक्त गरे जुन सडक, पुल, एकीकृत जाँच चौकी, अन्तरदेशीय रेलवे साथसाथै पेट्रोलियम पाइपलाइन सम्बन्धी पूर्वाधार परियोजनाको निरन्तर कार्यान्वयनमा प्रकट भएको छ ।

दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिको प्रशंसा गरे । पछिल्ला वर्षहरुमा ऊर्जा सहकार्यको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । यस सन्दर्भमा पछिल्लो २–३ वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत निर्यातमा भएको बढोत्तरीले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गरेकोमा दुवै पक्षले खुशी व्यक्त गरे । सन् २०२६ मा नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को हैसियतबाट स्तरोन्नति गर्नमा ऊर्जा क्षेत्र सहकार्यले खेलेको भूमिका उपर पनि छलफल भएको बताइएको छ ।

विदेश सचिव मिश्रीले अन्य वरिष्ठ राजनीतिक नेताहरुका साथै नेपालका नागरिक समाजका सदस्यहरुसँग पनि भेटघाट गरेका थिए । भ्रमणका क्रममा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालसँगै विदेश सचिवले काठमाडौंको पुरानो सहरको मुटुमा रहेको रक्तकालीमा प्रख्यात नेपाली कवि कवि केशरी चित्तधर ‘हृदय’सँग सम्बद्ध ऐतिहासिक आवासीय भवन ‘नेपाल भाषा परिषद्’को पनि संयुक्त रुपमा उद्घाटन गरे । २०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारको सहयोगमा अघि बढाइएका २८ वटा सांस्कृतिक क्षेत्र पुनर्निर्माण परियोजनामध्ये यो एक हो ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *