युवाका आवश्यकता र भावना सम्बोधन गर्ने नयाँ युवा नीति आवश्यक छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ युवा नीति आवश्यक भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता भएको बताए ।

उनले परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नवीनतम विकासको सन्दर्भमा युवा सम्बद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

उनले गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको सीमितता, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशील वातावरणको सीमितता रहेको बताए ।

उनले यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तित स्वतन्त्रता, विश्वव्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्यमान्यता, विश्वशान्ति, सहअस्तित्वको भावना जागृत गराउनुपर्ने बताए ।

उनले वातावरणीय सम्पदाको संरक्षण र संवर्द्धन तथा विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका आवश्यकताको परिपूर्ति समानता एवं समतामूलक वितरणको सिद्धान्तका आधारमा गर्न आवश्यक रहेको बताए ।

राष्ट्रपति पौडेलले युवालाई समाज रूपान्तरणको माध्यम बनाउन आग्रह गरे । उनले नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्न सके समृद्धिका लागि कतै भौँतारिनु नपर्ने जिकिर गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर