उच्च भेगमा लम्कँदै लामखुट्टे, फैलँदै छ डेंगु

लामखुट्टे पहिला समथर भूभागमा पाइन्थ्यो । अर्थात् तराईका भूभागमा मात्रै लामखट्टेको बास हुन्थ्यो । गर्मी जता हुन्थ्यो, लामखुट्टेको बासस्थान पनि त्यतै हुन्थ्यो । तर, आजभोलि लामखुट्टेको बासस्थान तराईबाट पहाड हुँदै हिमालसम्म पुगेको छ । अर्थात्, गर्मी बढेसँगै लामखुट्टेको यात्रा पनि उच्च भेगमा देखिन थालेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा डेंगु गराउने लामखुट्टे पहाडमा मात्रै नभई हिमालमा पनि देखिन थालेका छन् ।

यस वर्ष मात्रै हिमाली जिल्ला सोलुखुम्बुमा ३० जनाभन्दा बढी डेंगुबाट संक्रमित भइसकेका छन् । सोलुखुम्बुमा पछिल्ला २ वर्षअघिदेखि डेंगुका बिरामी देखिन थालेका हुन् । जलवायु परिवर्तनसँगै उच्च भेगतिर गर्मी सर्दैजाँदा लामखुट्टेले पनि आफ्नो थातथलो फैलाउँदै लगेको छ । विज्ञ भन्छन्, ‘यो जलवायु परिवर्तनका कारण देखिएको समस्या हो ।’ एक अनुसन्धानले नै देखाएको छ– संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिटमाथि डेंगु गराउने लामखुट्टे सर्दै छन् । लगातारको वर्षाले पानी जम्न थालेसँगै देशभर डेंगुको संक्रमण पनि बढ्दै गएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातायता डेंगु संक्रममितको संख्या तीव्र रूपमा बढ्दै गएको छ । अहिलेसम्म ३ हजार ८४ जनामा डेंगुको संक्रमण देखिएको छ ।

पछिल्ला चार दिनमा मात्रै ७ सय २२ जना डेंगु संक्रमित थपिएको महाशाखाले जनाएको छ । २१ साउनसम्म २ हजार ३ सय ६५ जनामा डेंगु पुष्टि भएको थियो । यो संख्या बढेर २५ साउन साँझसम्म ३ हजार ८४ पुगेको महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले बताए । महाशाखाका अनुसार, देशका ७३ जिल्लामा डेंगुको संक्रमण देखिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा संक्रमण फैलिएको डा. दाहालले बताए ।

सबैभन्दा बढी डेंगु तनहुँमा देखिएको छ । तनहुँमा शनिबारसम्म ५ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा ३ सय ७ जनामा डेंगुको संक्रमण देखिएको छ । त्यस्तै, कास्कीमा १ सय ६६ र झापामा १ सय ३५ जना डेंगु संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमितको संख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगु रोगका बिरामीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।

जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने दर बढेको छ । नेपालको हकमा २ हजार मिटरसम्म फैलिसकेको छ । एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ । यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।

जलवायु परिवर्तनका कारण उच्च स्थानमा फैलिएका लामखुट्टेका कारण मलेरियाको उच्च जोखिम देखिएको जर्ज टाउन युनिभर्सिटी मेडिकल सेन्टरको अध्ययनले निष्कर्ष निकालेको छ । सो विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च स्थानतिर मलेरिया सार्ने मुख्य भूमिका लामखुट्टेको भएको जनाएका छन् । सो अध्ययनअनुसार अफ्रिकातिर औसतमा प्रत्येक वर्ष ६ दशमलव ५ मिटर (२१) फिटमाथि लामखुट्टे सर्दैगएको छ । त्यसैगरी, भूमध्ये रेखाको दक्षिणी भागतिर प्रतिवर्ष ४ दशमलव ७ किलोमिटर टाढा लामखुट्टे सर्दैगएको छ ।

नेपालमा पहिलोपटक डेंगुमा संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६ मा तराईका नौ जिल्लामा डेंगु फैलिसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा डेंगु संक्रमण देखिएको थियो ।

सन् २००९ मा डेंगु सार्ने लामखुट्टेको पहिचान राजधानी काठमाडौंमा भएको थियो । जसको १ वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो ।

डेंगु फैलाउने लामखुट्टेमा ‘ट्रान्स ओभरियन ट्रान्समिसन’ पनि हुन्छ । यो भनेको डेंगु भाइरस बोकेको लामखुट्टेले अन्डा पार्दा ती अन्डामा पनि भाइरस ट्रान्सफर हुन्छ । वयस्क अवस्थामा पुग्दा लामखुट्टेमा डेंगु भाइरसको संक्रमण भइसकेको हुन्छ । एक अनुसन्धानका अनुसार डेंगु सार्ने भेक्टर २० देखि ३० डिग्री तापक्रममा सक्रिय हुनेगरेको छ ।

तापक्रम बढेसँगै यी लामखुट्टेले मानिसलाई टोक्ने दर बढ्ने गर्छ । सबैभन्दा बढी २५ देखि २६ डिग्री तापक्रम हुँदा डेंगु सार्ने भेक्टर सक्रिय हुनेगरेको पाइएको छ । डेंगु सार्ने लामखुट्टेले विशेषगरी साँझ र बिहान बढी मात्रमा टोक्ने गर्छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर