स्वास्थ्य बीमाको रकम बढाएर ५ लाख पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तीमा ५ लाख पुर्याउने घोषणा गरेका छन् ।

आइतबार मन्त्रालयको प्राथमिकता र कार्य योजना सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् । स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचमा पुर्याउने गरी त्यसको नीतिगत र कानुनी व्यवस्थापनमा पुनरावलोकन पनि गर्नेगरी कार्ययोजना तय गरिएको मन्त्री पौडेलले बताए ।

त्यसैगरी सरकारले बीमा सेवालाई गुणस्तरीय र यसको प्रक्रियालाई सहज बनाउन पनि लागिपर्ने प्रतिबद्धता उल्लेख गरिएको छ । मन्त्री पौडेलले सरकारले भिन्नभिन्न कार्यक्रममार्फत निःशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा दिइरहेकामा सबै सेवा र सामाजिक सुरक्षाका कार्यक्रमलाई बिमाको छाता भित्र राख्न आवश्यक प्रबन्ध गरिने पनि बताए ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य ऐन तर्जुमा गर्ने पनि बताए । मन्त्री पौडेलले संघ अन्तर्गतको अस्पतालहरूको काम कारबाहीमा एकरूपता ल्याउन र व्यवस्थित गर्नका लागि सो कानुनी प्रबन्ध गर्न लागिएको बताए । कार्ययोजनामा औषधि ऐनको प्रतिस्थापन विधेयक तर्जुमा गरिने, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन तर्जुमा गरिने कुरा समावेश गरिएको छ । मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रतिष्ठानहरूलाई एउटै नीतिले सञ्चालन गर्नका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन तर्जुमा गर्न लागिएको पनि स्पष्ट पारे ।

मन्त्री पौडेलले स्वास्थ्य सामग्री खरिदलाई पारदर्शी बनाउन सार्वजनिक खरिद नियमावलीमा पुनरावलोकन गरिने बताए । त्यसका लागि सरकारले स्वास्थ्य सामग्री खरिद सम्बन्धी मापदण्ड नै तय गरेर अघि बढ्ने उनको योजना छ । कार्ययोजनामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा संशोधन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भए तत्काल गैरजमानती गिरफ्तार गर्ने व्यवस्थालाई प्रभावकारी बनाउने कुरा पनि समावेश गरिएको छ ।

मन्त्री पौडेलले मानसिक स्वास्थ्य सेवा कार्यक्रमलाई व्यापक बनाउने, प्राथमिक स्वास्थ्य संस्थाहरूलाई स्रोत सम्पन्न बनाई स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच पुर्याउने प्रतिबद्धता पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर