मुग्लिन–पोखरा सडक पूर्वीखण्ड : एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र

निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ। आर्थिक वर्ष २०८०/८१ मा पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म एकतर्फि रूपमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको हो।

पूर्वीखण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म एकतर्फि रूपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको जानकारी दिए। वर्षाका कारण अहिले कालोपत्रको काम रोकिएको छ ।

पूर्वीखण्डअन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन्। त्यसमध्ये व्यास नगरपालिकाको दमौली र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइ हुँदा कालोपत्र काम अगाडि बढ्न सकेको छैन।

पाण्डेकानुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना, दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएका छन्। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उनले जानकारी दिए।

आर्थिक वर्ष २०८०-८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इञ्जिनियरिङको काम गरिएको छ। उक्त अवधिमा केही घरटहरा हटाउन ढिलाइ हुँदा र पहिराजन्य समस्या काममा अवरोध पुगेको आयोजनाले जनाएको छ।

गत आवमा आयोजनाका लागि पुँजीगततर्फ रु दुई अर्ब ९९ करोड बजेट विनियोजन भएकामा रु दुई अर्ब १४ करोड खर्च भएको जनाइएको छ। यस खण्डको गत वैशाख २ गते म्याद सकिएपछि पुनः एक सय ५५ दिन थप गरिएको छ। पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । यहाँ चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले काम गरिरहेको छ।

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेन सडक विस्तारको काम सुरू भएको हो । पूर्वीखण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर