अहिले नै संविधान संशोधन हुन सक्दैन, दुई वर्ष कुर्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भए पनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन् ।

उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको दुई तिहाइ बहुमत चाहिने तर सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पुर्‍याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए ।

नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरूलाई पनि साथमा लिनुपर्ने बताए । उनले अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको भएको उल्लेख गर्दै संविधान संशोधन गर्दा यी कुरामा पनि विचार पुर्‍याउनुपर्ने बताए ।

उनले प्रतिनिधिसभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउने गरी संविधान संशोधन गरिने बताए ।

‘संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरा दिमागबाट हटाइदिनुस् । त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौं । किन हुन सक्दैन भने प्रतिनिधिसभा र राष्ट्रियसभा मिलाएर दुई तिहाइ बहुमत चाहिन्छ । राष्ट्रियसभामा यो सरकारको बहुमत पुग्दैन,’ नेता कोइरालाले भने, ‘दुई वर्ष कुर्नैपर्ने हुन्छ । संशोधन गर्दाखेरि संविधानलाई सुधार गर्ने क्रममा माओवादीलगायत अन्य राजनीतिक दलहरूलाई पनि हामीहरूले साथ लिएर जानुपर्छ । किनभने संविधान भन्ने कुरा नेपाली जनताको हो । कुनै राजनीतिक दलको संविधान हुँदैन भन्ने कुरा हामीले बुझौं ।’

उनले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिएको बताए ।

उनले नेपाली कांग्रेसका मन्त्रीहरूलाई पदबाट बाहिरिँदा निष्कलंक भएर निस्किन आग्रह गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *