काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री

भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

उनी भारतीय वायु सेनाकाे जहाजमा केही समयअघि काठमाडाैंमा अवतरण गरेका हुन्। उनलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए।

सचिव मिस्रीसँगै नेपाल र भुटान हेर्ने नर्थ डेस्क प्रमुख सहसचिव अनुराग श्रीवास्तवलगायतका अधिकारी भ्रमणमा सहभागी छन्।

परराष्ट्रसचिव लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपाल आएका हुन्। भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा विदेशसचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ । मिस्री भोलि स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *