रास्वपा सांसद र यात्रुबीच भनाभनपछि ‘डिले’ भएको थियो श्री एयरलाइन्सको जहाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा श्री एयरलाइन्सको जहाज धावनमार्गबाट फर्काइयो । उक्त जहाजको यात्रु रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी एक सांसद र अन्य यात्रुबीच भनाभन भई होहल्ला मच्चिएपछि जहाज ‘डिले’ गर्नुपरेको खुलेको छ ।

धावनमार्गबाट उड्नै लाग्दा जहाज फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको उक्त जहाज धावनमार्गमा पुगेर फर्किएको थियो ।

सुर्खेतको मौसम खराब भएपछि साढे ८ बजे बल्ल बोर्डिङ सुरू भएको थियो । त्यसबीच रास्वपा सांसद विनिता कठायत र अन्य यात्रुबीच भनाभन भएको बुझिएको छ ।

सामान्य विषयलाई सांसद कठायतले ‘संसदमा उठाउने’ भनेपछि यात्रुहरूसँग विवाद चर्किएको बताइएको छ । विमानस्थल स्रोतका अनुसार यात्रुहरू लफडामा उत्रिएपछि चालकदलका सदस्य र एयरलाइन्सका कर्मचारीले विमानस्थलमा खटिएका प्रहरी अधिकृतलाई फोन गरेर बोलाएका थिए ।

प्रहरी निरीक्षक नेतृत्वका टोली जहाजमा पुगेर दुवै पक्षको कुरा सुनी अवस्था सामान्य बनाएको र पुनः बोर्डिङ भई जहाज बिहान १० बजे सुर्खेत उडेको बताइएको छ ।

के छ सांसद कठायत र श्री एयरलाइन्सको भनाइ ?
रास्वपा सांसद कठायतले विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काइनु एयरलाइन्सको लापरबाही भएको बताइन् ।

‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा टेकअफको अन्तिम प्वाइन्टमा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए,’ उनले भनिन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काइएको स्वीकार गरे ।

‘प्राविधिक समस्याका कारण होइन, दुई-चार जना यात्रुबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्,’ उनले भने, ‘नागरिक उड्डयनको मापदण्डअनुरूप यात्रुबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्‍याएर यात्रुलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर