अन्नपूर्ण र मुस्ताङ कम्पनीका हेलिकोप्टर उडानमा रोक

उडान सुरक्षा कमजोर रहेको कारण देखाउँदै अन्नपूर्ण र मुस्ताङका कम्पनीका हेलिकोप्टर उडानमा रोक लगाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यी दुई हेलिकोप्टर कम्पनीको एयर अपरेटर सर्टिफिकेट (एओसी) किन निलम्बन नगर्ने भनेर ७२ घण्टे (तीनदिने) स्पष्टीकरण सोध्दै उडानमा रोक लगाएको हो ।

प्राधिकरणका अनुसार यी दुई हेलिकोप्टर कम्पनीको सन् २०२४ को सात महिनाको अडिटमा सेफ्टी म्यानेजमेन्ट सिस्टम (एसएमएस) ६० प्रतिशतभन्दा कम देखिएकाले तत्काल लागू हुने गरी उडानमा रोक लगाइएको हो ।

तीन दिनभित्र यथार्थपरक र प्रमाणसहित सन्तोषजनक जवाफ प्राप्त नभए यी दुई हलिकोप्टर कम्पीनको एओसी निलम्बन गरिने प्राधिकरणले जनाएको छ ।

अन्नपूर्णसँग एउटा र मुस्ताङसँग दुईवटा हेलिकोप्टर छन् । एक वर्षदेखि मुस्ताङले आफैं हेलिकोप्टर ग्राउण्डेड गरेर राखेको थियो ।

पछिल्लो समय दुई साताको अन्तरमा दुईवटा हवाई दुर्घटना भएका छन् । ९ साउनमा सौर्य एयरको सीआरजे जहाज त्रिभुवन विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

यस्तै बुधबार मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेन अरूण मल्ल र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *