नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा निषेध

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा प्रवेश निषेध गरिएको छ।

विमानस्थलमा भएको विमान दुर्घटनाको उद्धार कार्यमा भएको ढिलाइ, उड्डयन प्रधिकरणको कार्ययोजनामा असन्तुष्टि लगायतका विषयमा विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रधानमन्त्री कार्यालयमा नआउन भनेका हुन् तर महानिर्देशक अधिकारी प्रधानमन्त्री कार्यालय जान छाडेका छैनन्। उनी सरकारी निवास वालुवाटार पुग्ने गरेको तर प्रधानमन्त्रीसँग भेटघाट हुन नसकेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ।

‘विमानस्थलमै दुर्घटनामा परेको जहाजमा परेका मानिसको उद्धारमा देखिएको कमजोरीका कारण प्रधामन्त्री उहाँसँग एकदमै असन्तुष्ट हुनुहुन्छ।’ प्रधानमन्त्री निकट स्रोतले भने, ‘उहाँको विवादित छवि र उड्डयन प्रधिकरणको कार्ययोजनासँग पनि प्रधानमन्त्री सन्तुष्ट हुुनुहुन्न।’ व्यक्तिगत रूपमा पनि विवादित छवि भएको र उड्डयनक्षेत्रको कार्यसम्पादनप्रतिको असन्तुष्टिले गर्दा महानिर्देशक अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा प्रवेश निषेध गरिएको स्रोतले बताएको छ।

२०२३ फेब्रुअरीमा प्राधिकरणको महानिर्देशक पदभार सम्हाल्दै गर्दा युवा र गतिशील नेतृत्वले आम जनतामा क्यानको प्रतिष्ठा बदल्ने र यसको विरासतलाई अभिवृद्धि गर्ने बताएका थिए। सोहीक्रममा उनले आफु क्यानलाई गौरवशाली संस्था बनाउने र संस्थाको क्षमता अभिवृद्धि गर्न क्यानका कर्मचारीसँग मिलेर काम गर्ने प्रतिवद्धता गरेका उनले कार्यभार सम्हाले यता अधिकारी र प्राधिकरण जहिल्यै विवादबाट मुक्त हुन सकेका छैनन्।

उनलाई प्राधिकरणको क्षमता अभिवृद्धि गर्ने भन्दा पनि प्राधिकरणलाई आफ्नो अनुकूलको बनाइ लाभ प्राप्त गर्ने गरेको आरोप लाग्दै आएको छ। प्राधिकरणको महानिर्देशक भएर उनले हवाई उड्डयन सुरक्षामा ध्यान नदिएको र विमानस्थल ठेक्कामासमेत आर्थिक अपचलन गरेको आरोप छ। यही साउन १० गते बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले महानिर्देशक अधिकारीलाई निलम्बन गर्न माग गरेका थिए।

सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको भोलिपल्ट बैठक बोलाइएको सो बैठकमा कांग्रेस सांसदउदयशमशेर राणाले दुर्घटनाको छानबिन गर्न आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिने भएकाले प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्न सुझाएका थिए।

सांसद जबराले महानिर्देशक अधिकारीले जिम्मेवारी लिए यता मात्रै सात वटा जहाज दुर्घटना भइसकेको बताउँदै दोष जति सधैं अरूलाई नै लगाउन छाडेर नैतिक जिम्मेवारी लिँदै पद छाड्नु पर्ने बताएका थिए। साथै उनको उनको क्षमतामाथि पनि प्रश्न गरेका थिए।

‘अन्य देशमा यस्तो भएको भए नेतृत्व आफैंले राजीनामा दिइसक्थ्यो वा सरकारले हटाइसक्थ्यो’ सांसद जबराले भने, ‘त्यसैले अब प्राधिकरणको नेतृत्व फेर्नेबारेमा सोच्ने बेला आएको छ।’

हवाई दुर्घटना भइरहँदा कतिपय विज्ञले नेपालको उडान संरचनामाथि नै प्रश्न गरेका छन्। गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको १४ दिनमै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएपछि विश्वभर नेपालको उड्डयन क्षेत्रबारे गम्भीर प्रश्न उठेको छ।

प्राधिकरणका अनुसार नेपालको हवाई उडानको इतिहासमा हालसम्म एक सय नौ दुर्घटना भएका छन्। साना ठूला गरी एक सय नौ वटा वायुयान दुर्घटनामा नौ सय ६४ जनाको मृत्यु भइसकेको छ । त्यसमा विदेशी दर्ता विमान १० दुर्घटनामा तीन सय ७९, नेपाली सिंगल इन्जिन विमान आठ दुर्घटनामा २५ जना, र ‘फिक्स विङ’ विमान ५० वटा दुर्घटनामा चार सय ५१ र ४१ हेलिकप्टर दुर्घटनामा ९७ समेत गरी हालसम्म नौ सय ६४ जनाले ज्यान गुमाएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य जबराले भने, ‘साढे दुई वर्षको उनको कार्यकालमा आठ जहाज दुर्घटना र एक सय २३ जनाको मृत्यु भइसकेको छ, यसले उनको अक्षमतालाई प्रष्ट पारेको छ।’

माथिल्लो तहका कर्मचारीलाई पन्छाउँदै अधिकारीलाई २०२३ फेब्रुअरीमा सरकारले प्राधिकरणको महानिर्देशक पद सुम्पिएको थियो । पद सम्हाले पछि अधिकारीको १८ महिने कार्यकालमाआठ वायुयान दुर्घटनामा परिसकेका छन्।

२०२२ मे २९ मा तारा एयरलाइन्सको नाइन एन–एइटी ट्विनअटर विमान जोमसोममा दुर्घटनामा परेको थियो। पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। विमान मुस्ताङको थासाङ गाउँपालिकास्थित सानुसरे भिरमा ठोक्किएको थियो। विमानमा चालकदलका सदस्यसहित २२ जना यात्रु सवार थिए।

विमानमा सवार १६ नेपाली, चार भारतीय र दुई जर्मन रहेकोमा चालक दलका तीन सदस्य र १९ यात्रु गरी विमानमा सवार सबै २२ जना यात्रुको मृत्यु भएको थियो। यसैक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको कारणबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो।

वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदनले विमान प्राविधिक र मौसमीभन्दा पनि मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरेको थियो। प्रतिवेदनमा खराब मौसमको जानकारी हुँदाहुँदै भिएफआर उडान भर्दा डाँडामा गएर ठोक्किएको भनिएको थियो।

यस्तै २०२३ जुलाई ११ मा मनाङ एयरको एयरबस हेलिकप्टर दुर्घटनामा परेको थियो। मनाङ एयरको एयरबस हेलिकप्टर एच १२५ सोलुखुम्बुको लिखुपिकेको लमजुराको चिहानडाँडामा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा पाइलटसहित सवार ६ जनाकै मृत्यु भएको थियो।

यस्तै सन् २०२३ मा संखुवासभास्थित मकालु बरूण क्षेत्रको सिप्रुङमा सिम्रिक एयरको नाइनएन–एजेजेट एएस ३५०बि थ्री ई हेलिकप्टर दुुर्घटनामा परेको थियो। हेलिकोप्टरले अरूण हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो। सोही क्रममा भोटखोला गाउँपालिका ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा एक जनाको मृत्यु र ४ जना घाइते भएका थिए।

यस्तै २०२४ जनवरी १४ मा यती एयरलाइन्सको ९ एन एएनसी एटिआर –७२ पोखरामा दुर्घटना भएको थियो। काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त जहाज पोखराको सेती खोँचमा दुर्घटनामा परेको थियो। जहाज भुइँमा बजारिएलगत्तै आगजनी हुँदा जहाजमा सवार ७२ यात्रुकै मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ। दुघ्रटनाग्रस्त जहाजमा चालक दलका चारसहित ७२ जना सवार थिए।

यसै क्रममा सरकारले यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिनका लागि पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा विज्ञ सदस्यसहितको आयोग गठन भएको थियो। छानबिन आयोगको प्रातिवेदनले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालेको थियो।

क्रमिक रूपमा २४ जुलाई २०२४ मा काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको सिआरजे २०० जहाज त्रिभुवन विमानस्थलबाट उड्ने क्रममा दुर्घटना भएको थियो। विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज भुइँमा खसेको थियो । दुर्घटनापछि विमानमा आगलागी भएको थियो। जहाज कम्प्रिहेन्सिभ टेष्ट (सि–चेक) गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो।

यस्तै सरकारले सौर्य एयरलाइन्सको सिआरजे २०० विमान दुर्घटनाबारे छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी पाँच सदस्यीय आयोग गठन गरेको थियो। पछिल्लो पटक सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १४ दिनमै अगष्ट २०२४ मा एयर डाइनेस्टीको नाइन एन अल्फा जुलियट डेल्टा हेलिकप्टर दुर्घटना भएको थियो ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो। हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका –७ सूर्यचौरमा दुर्घटना भएको हो। दुर्घटनामा पाइलट अरूण मल्लसहित हेलिकप्टरमा सवार अन्य चार जनाको पनि निधन भएको छ। पाइलट मल्लबाहेक निधन हुने चार जना सबै चिनियाँ नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको थियो।

यसै क्रममा सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ। मन्त्रीपरिषद्को बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो। आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्। यीबाहेक उनको ३१ महिने कार्यकालमा अन्य दुर्घटनाहरू पनि भइसकेका छन्। यसैक्रममा उनले सौर्यको जहाज दुर्घटनाबारे अहिले आफूले केही नबोल्ने र छानबिन समितिको निष्कर्षले घटनाको यथार्थ जानकारी दिने भनिरहँदा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबारे बसेको समितिको बैठकमा भने पाइलटको कमजोरी भएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *