विद्युत् प्राधिकरणले लेखा समितिलाई बुझायो प्रमाणको चाङ

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङका वेला ६१ उद्योगले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत उपभोग गरेको विद्युत्को टाइम अफ डे (टिओडी) मिटरको डाटासहितका विवरण सार्वजनिक लेखा समितिलाई बुझाएको छ । प्राधिकरणले टिओडी मिटरको डाउनलोड विवरण, टिओडी मिटरकै लोड प्रोफाइलसहितको डाटा, विभिन्न समितिको अध्ययन प्रतिवेदन, विभिन्न अदालतको फैसला, लग सिटलगायत विवरण बिहीबार लेखा समितिलाई बुझाएको हो ।

प्राधिकरणले ३० पोका र दुई थानमा उक्त विवरण बुझाएको छ । करिब ८० हजार पाना यस्तो विवरण बुझाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले खरिद गरेको पेपरको आधारमा यस्तो अनुमान गरिएको हो । यसबाहेक ६ पानाको लिखित जवाफ पनि पेस गरेको छ । प्राधिकरणका अनुसार उक्त विवरण प्रिन्ट र फोटोकपी गर्न मात्रै पाँच दिन समय लागेको थियो ।

देश चरम लोडसेडिङमा रहेका वेला प्राधिकरणले नियमित महसुलमा ६५ प्रतिशत प्रिमयम पनि लिने सर्तमा उद्योगहरूलाई डेडिकेटेड र ट्रंकलाइनमार्फत २४ घण्टासम्म विद्युत् आपूर्ति गरिदिएको थियो । नियमित शुल्क बुझाएका उद्योगहरूले प्रिमियम महसुल भने नतिर्दा अहिले विवादमा छ । संसद्को सार्वजनिक लेखा समितिले समेत यसअघि नै यो विषय टुंग्याउँदै महसुल बक्यौता असुल गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, हाल लेखा समितिले फेरि अध्ययन थालेकोमा अघिल्लो शुक्रबार (१८ साउन) प्राधिकरणलाई टिओडी मिटरको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको थियो । निर्देशनको लिखित पत्र सोमबार प्राप्त गरेको प्राधिकरणले बिहीबार समितिमा विवरण पेस गरेको हो ।

लेखा समितिका सचिव एकराम गिरीले प्राधिकरणबाट विभिन्न विवरण प्राप्त भएको बताए । ‘प्राधिकरणले विभिन्न विवरण बुझाएको छ । त्यो धेरै नै छ । अब त्यसको अध्ययन अघि बढाउँछौँ,’ उनले भने । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर