काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथमा हलुका सवारीसाधन सञ्चालन

काठमाडौँबाट हेटौँडातर्फ जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका वडा नं २ पाङ्दुरे र छबेनीमा सोमबार पहिरोका कारण अवरूद्ध सडक सञ्चालनमा आएका छन् ।

पहिरो हटाएपछि आज दिउँसोबाट हेटौँडा काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको ललितपुरको भट्टेडाँडा इलाका प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी उक्त लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ महादेवटारस्थित सडकमा गएको पहिरो पन्छाएर सोमबार नै एकतर्फी हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ओम पण्डितले महादेवटार क्षेत्रको सडकका तीन स्थानमा ठूलो पहिरो गएकाले हेबी सवारीसाधन सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने बताए ।

उक्त सडकको दुवैतर्फको टेवा पर्खाल, ढल निर्माण र सडक फराकिलो गर्नुपर्ने बाध्यता भएकाले अझै एक हप्ताभन्दा बढी समय लाग्ने अनुमान गरिएकाले हेबी सवारीसाधनलाई त्रिभुवन राजपथलगायत वैकल्पिक राजमार्ग प्रयोग गर्न सुझाव दिइएको उनले जानकारी दिए ।

यसैगरी हेटौँडाबाट काठमाडौँतर्फ त्रिभुवन राजपथ, हेटौँडा भीमफेदी–कुलेखानी–सिस्नेरी, फाखेल र मातातीर्थको सडकमा दैनिक यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर