सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज प्रतिवदेन बुझाउँदै

चितवनको सिमलताल घटना सम्बन्धी अध्ययन कार्यदलले मंगलबार अध्ययन प्रतिवेदन बुझाउँदैछ।

कार्यदलले आज दिउँसो साढे १ बजे अध्ययन प्रतिवेदन गृहमन्त्री समक्ष बुझाउने उनको सचिवालयले जानकारी दिएको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको उक्त कार्यदलले सिमलताल भेलबाढीको र त्यसले सिर्जना गरेको विपत्तिको प्रस्तुतीकरण पनि गर्नेछ।

गत असार २८ गते बिहान ३ः३० बजे चितवनको सिमलताल नजिकैको सिँदुरे गहिरामा लेदोसहितको भेलबाढीले दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसालेको थियो। काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं गइरहेका बस सिँदुरे गहिराको भेलबाढीमा परेका थिए।

उक्त बसमा ६५ जना यात्रु सवार रहेका अनुमान गरिएको छ। उक्त घटनामा तीन जना यात्रु बाँचेका थिए। बाँकी यात्रु बेपत्ता रहेकामा हालसम्म २४ जनाको मात्र शव फेला परेको छ।

नेपालको गोताखोरका अतिरिक्त भारतबाटसमेत मगाएर खोजतलास गरिको थियो। तर अहिलेसम्म बसको अवस्था अज्ञात छ।

घटना अध्ययन गर्न सरकारले गत असार ३१ गते गृह मन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलले स्थलगत अवलोकन, घटनामा बाँचेकाहरूसँग प्रत्यक्ष कुराकानी, स्थानीयहरूसँग अन्तरक्रिया गरेर प्रतिवेदन  तयार पारेको छ।

यसअघि सडक डिभिजन भरतपुरले पनि आन्तरिक रूपमा अध्ययन प्रतिवेदन तयार पारेको थियो।

सडक डिभिजनले ग्रामीण सडक खन्दा निस्किएको माटो वर्षातको पानीले बगाउँदा लेदो सहितको बाढी उत्पन्न भएको निष्कर्ष निकालेको थियो। रिजाल कार्यदलले पनि त्यस्तै निष्कर्ष निकालेको एक सदस्यले बताए।

सिमलताल नजिकैबाट चितवनको कविलास र डुम्रेको लेकसम्म जोड्ने स्थानीय बाटो खनिएको छ। यस वर्षमात्रै पाँच लाख लागतमा करिब ६५० मिटर लामो ट्र्याक खनिएको थियो। त्यसको माटो उपयुक्त ढंगले व्यवस्थापन नहुँदा वर्षात्को पानीले बगाएको निष्कर्ष निकालिएको छ।

डुम्रेको लेकसम्म पुग्न खनिएको मोटर बाटामा साना, ठूला पहिरा चलेका छन्। कतै नयाँ मूल पलाएको छ। बाटो खन्दा फालिएको माटो वर्षातको पानीले सोहोरेर बगाउँदा भेलबाढी निम्तिएको अध्ययनले देखाएको एक सदस्यले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *