वाणिज्य बैंकहरूको नाफा ६४ अर्ब १५ करोड, कुन बैंकले कति कमाए ?

‘क’ वर्गका वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आव २०८०–८१ मा साढे ७ अर्बबढी नाफा कमाएका छन् ।

बैंकहरूले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आवमा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवमा यस्तो नाफा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

यस हिसाबले बैंकहरूको नाफा १ वर्षको अवधिमा १३ दशमलव ४० प्रतिशत बढेको छ । बैंकहरूको विवरणअनुसार गत आवमा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ भने सबैभन्दा बढी नाफा प्रगति वृद्धि गर्ने बैंकमा प्रभु बैंक रहेको छ ।

अंकका आधारमा बढी नाफा आर्जन गर्ने बैंकहरूको सूचीको दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक बनेको छ । नाफामा प्रगति गर्ने बैंकका रूपमा कुमारी बैंक दोस्रो स्थानमा रहेको छ । यसैगरी, बढी नाफा कमाउने बैंकको तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । नाफामा प्रगति गर्ने तेस्रो बैंकका रूपमा प्राइम कमर्सियल बैंक परेको छ ।

नबिल बैंकले गत आवमा १० प्रतिशत नाफा वृद्धि गरी ७ अर्ब ६ करोड पु¥याएको छ । अघिल्लो आवमा सो बैंकले ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसैगरी, ग्लोबल आईएमई बैंकको नाफामा १० प्रतिशत कमी आए पनि गत आवमा यस बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आव २०७९–८० मा सो बैंकको नाफा ६ अर्ब ६९ करोड ४३ लाख रुपैयाँ थियो ।

यसैगरी, नेपाल इन्भेस्टमेन्ट बैंकले गत आव २०८०–८१ मा ५ अर्ब १९ करोड ८३ लाख नाफा आर्जन गरेको छ । सो बैंकले अघिल्लो आवमा ३ खर्ब ७२ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो ।

बढी नाफा आर्जन गर्ने अन्य बैंकहरूमा क्रमशः प्रभु बैंक, प्राइम कमर्सियल बैंक, एभरेस्ट बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक रहेका छन् ।

बढी नाफा प्रगति गर्ने बैंकहरूमा प्रभु बैंक रहेको छ । यस बैंकले गत आवमा १५ सय प्रतिशत प्रगति गरेको छ । यसैगरी, कुमारी बैंकले ३ सय ४५, प्राइम कमर्सियल बैंकले २ सय ६७ प्रतिशत प्रगति हासिल गरेका छन् । आव २०७९–८० को तुलनामा गत आव २०८०–८१ मा नाफा प्रगति गर्ने बैंकहरूमा क्रमशः कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, एभरेस्ट बैंक र नेपाल एसबीआई बैंक रहेका छन् ।

गत आवमा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ । आव २०७९–८० को तुलनामा गत आव २०८०–८१ मा धेरै नाफा घटेका बैंकहरूमा एनआईसी एसिया बैंक अघिल्लो स्थानमा छ । सो बैंकले आव २०७९–८० मा ४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेकामा गत आवमा ६९ प्रतिशतले ह्रास आई १ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ । नेपाल बैंकको नाफा पनि ५२ प्रतिशतले कमी आएको छ । यसैगरी, सिटिजन्स बैंक र एनएमबी बैंकको नाफा पनि २७ प्रतिशतले घटेको छ । नाफामा ह्रास आउने बैंकहरूमा क्रमशः माछापुच्छ«े बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

धेरै नाफा कमाउने बैंकका रूपमा रहेको नबिल बैंकले असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १० दशमलव २३ प्रतिशत बढी हो ।

त्यस्तै, ६ अर्ब नाफा कमाएको ग्लोबल आईएमई बैंकले ५ अर्ब १९ लाख रुपैयाँ नाफा कमाएको छ । सबैभन्दा कम नाफा कमाउने बैंक भने माछापुच्छ«े बैंक रहेको छ । सो बैंकले गत आवको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ ।

अघिल्लो आवको तुलनामा गत आव सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ । सो बैंकको खुद नाफा समीक्षा अवधिमा १ हजार ४ सय ९९ दशमलव शून्य ४ प्रतिशत बढी हो ।

गत आव २०८०–८१ मा प्रभु बैंकले आक्रामक नाफा वृद्धि गरेको छ । अघिल्लो वर्ष जम्मा २८ करोड २ लाख रुपैयाँ मात्र नाफा कमाएको बैंकले गत वर्ष एकैपटक ४ अर्ब ४८ करोड रुपैयाँभन्दा माथि नाफा कमाउन सफल भएको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९ दशमलव ४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ नाघेको छ । बैंकको सञ्चालन नाफा पनि ३ सय ५४ दशमलव ६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड रुपैयाँ नाघेको छ । गत वर्ष बैंकले १ अर्ब ५५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोडबढी पुगेको छ । रिजर्भ कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसाले बढेर १९ रुपैयाँ ३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ ७६ पैसा रहेको छ ।

बैंकहरूको नाफा उच्च देखिए पनि वितरणयोग्य नाफा भने न्यून रहेको छ । २० बैंकको औसत वितरणयोग्य नाफा १८ अर्ब ५८ करोड रुपैयाँ छ । गत आवमा हिमालयन, कुमारी र एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । त्यस्तै हिमालयन, कुमारी, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सञ्चित नोक्सानीमा छन् ।

एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ । यस बैंकले आफ्ना सेयरधनीलाई २९ दशमलव ८६ प्रतिशत प्रतिफल दिनसक्ने वित्तीय विवरणमा उल्लेख छ ।

दोस्रो बढी लाभांश क्षमता स्ट्यान्डर्ड चार्टर्ड बैंकको देखिएको छ । यस बैंकको २६ दशमलव ५० प्रतिशत लाभांश क्षमता छ ।

तेस्रो बढी लाभांश क्षमता सरकारी स्वामित्वको कृषि विकास बैंकको १७ दशमलव ३७ प्रतिशत देखिएको छ ।

सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकको लाभांश क्षमता भने १४ दशमलव २६ प्रतिशत मात्र देखिएको छ । नेपाल एसबीआई बैंकको १० दशमलव ७६ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ भने सानिमा बैंकको १० दशमलव ४० प्रतिशत लाभांश क्षमता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *