टाइमलाइनमा बंगलादेशको संकट, नागरिक बिद्राेह र हसिनाकाे अवस्था

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि विदेश पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्।

प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै समाधान हासिल हुने पनि बताए। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट भएको छैन।

राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्।

हसिनाको विमान सोमबार साँझ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेको विवरण आएका छन्। उनी भारतमा नै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने अहिलेसम्म थाहा भइसकेको छैन। तर कतिपय स्थानीय सञ्चारमाध्यमले उनी लन्डन जान सक्ने विवरण प्रकाशन गरिरहेका छन्। तर त्यसको पुष्टि भइसकेको छैन। यसअघि बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएकी बताएका थिए। समाचार संस्था एफएपीसँग हसिनासँग निकट स्रोतले यसको पुष्टि गरेका छन्। ती अधिकारीले एएफपीसँग भने, उनी र उनकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन्। जानुअघि उनी आफ्नो वक्तव्य रेकर्ड गराउन चाहन्थिन् तर उनलाई त्यसको अवसर दिइएन।

रोएटर्सले सैनिक हेलिकप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ। सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो। उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए।

टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ। केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ। केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ। प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि हर्षोल्लास गरेका छन्।

ढाकामा रहेका बीबीसी बाङ्ग्लाका संवाददाताहरूका अनुसार प्रदर्शनकारीहरूले गृहमन्त्रीको निवासमा तोडफोड गरेका छन् भने सहरमा ठूलो परिमाणमा लुटपाट भइरहेको छ।

गृहमन्त्रीको निवासबाट धुवाँ निस्केको देखिएको छ। शेख हसिनाका पिता तथा स्वतन्त्र बाङ्ग्लादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्‍याएका छन्।

प्रदर्शनकारीहरूले उनको सम्मानमा निर्माण गरिएको सङ्ग्रहालयको एउटा भागमा पनि आगो लगाइदिएका छन्। सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो। हसिना पलायन भइसकेपछि आफ्नो सम्बोधनमा बाङ्ग्लादेशका सेनाप्रमुख वकार उज(जामनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको भन्दै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताएका छन्। हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ। हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ। हामीलाई विश्वास गर्नुहोस्, उनले भने।

हसिनाले देश छाडेपछि उनले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गरे। ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन्। उनले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै आजसम्म एउटा समाधान निस्किने अपेक्षा गरेको बताए। यद्यपि कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने स्पष्ट हुन बाँकी छ। तर बंगलादेशका सेनाप्रमुखले विगत केही सातामा सयौँ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले गरिरहेको न्यायको माग सम्बोधन गरिने बताए। उनले शान्ति सुव्यवस्था कायम सघाउन आग्रह गरेका छन्। उनले द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

नयाँ सरकार गठनका लागि सेनाप्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरिरहेका छन्। सोमवार बिहानैदखि ढाका विश्वविद्यालय, बंगलादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको थियो।

बंगलादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ। उक्त सङ्ख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट सङ्कलित विवरणका आधारित छ।

एएफएपीका अनुसार आइतवार एकैदिन ९४ जनाको ज्यान गएको थियो। प्रहरी र सरकारविरोधी दशौँ हजार प्रदर्शनकारीबीच झडप हुँदा उक्त क्षति भएको थियो। आइतवार सिराजगन्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको बंगलादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन। स्थिति नियन्त्रणमा लिन सरकारले आइतवार साँझ ६ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यू घोषणा गरेको थियो।

गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको छ। त्यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राति ९ बजेसम्म खुकुलो बनाइएको थियो। तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुनस् कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्। प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानमा अश्रुग्यास र रबरको गोली चलाएको थियो। केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन्।

विपक्षी दलहरूको बहिष्कारकाबीच गत ज्यानुअरीमा भएको निर्वाचनबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। तर प्रदर्शनकारीहरूले उनको सत्तालाई चुनौती दिएका थिए।

विगत १६ वर्षदेखि बंगलादेशको सत्ता हाँकेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन्। शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनी बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर