कांग्रेस-एमालेअनुकूलको संविधान संशोधन कदाचित मान्य हुने छैन : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आफूअनूकल संविधान संशोधन गर्ने सत्तारूढ गठबन्धनको सहमति मान्य नहुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राज्यका सबै निकायमा समावेशी हुने गरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत गराए । उनले सरकारले समावेशिताका आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्याएको आरोप पनि लगाए ।
प्रमुख सचेतक परियारले संविधानले समावेशितालाई जोड दिए पनि सरकारले सोअनुसार काम गर्न नसकेको भन्दै आपत्ति जनाए ।
‘संविधानको मूलभूत आशय समावेशितालाई अहिले राजनीतिक पार्टीहरूले नै लत्याइरहेका छन् । संविधान आफैंले काम गर्ने होइन । संविधान एउटा सामाजिक करार हो । त्योअनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ सभामुख महोदय । तर राजनीतिक पार्टीहरु आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन्,’ परियारले भने, ‘म सम्माननीय सभामुख महोदयमार्फत राजनीतिक पार्टीहरूको ध्यानाकर्षण गराउन चाहन्छु, १४ प्रतिशत लगभग रहेको दलित समुदाय सबैतिरबाट वञ्चित गर्ने यो कस्तो खालको राजनीतिक प्रवृत्ति हो ? संविधानअनुसार काम नगर्ने, आफूअनुकुल संविधान संशोधन गर्न खोज्ने कदाचित मान्य हुने छैन । राष्ट्रिय स्वतन्त्र पार्टी यो सरकारले समावेशितालाई नबुझेको कुरामा घोर भर्त्सना गर्दछ ।’
प्रतिक्रिया