ढिलासुस्ती नगरी पारदर्शी ढंगले काम गर्न पूर्वमन्त्री र पूर्वसचिवको सुझाव

पूर्वमन्त्री तथा पूर्वसचिवहरुले काममा ढिलाइ नगरी कार्यसम्पादन गर्न सुझाव दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘मन्त्रालय सुधार कार्ययोजना’अन्तर्गत आज आयोजना गरेको अन्तरक्रियामा उनीहरूले कुनै पनि ढिलाइबिना पारदर्शी ढङ्गले काम गर्न सके सुधारको लक्ष्य पूरा हुने धारणा व्यक्त गरेका हुन् ।

पूर्वमन्त्री मीन विश्वकर्माले मन्त्रालयमा कुनै पनि फाइल एक दिनभन्दा बढी रोकिन हुन्न भन्नुभयो । “मन्त्रीज्यूले हामीसँग मन्त्रालय सुधारका लागि सुझाव माग्नुभएको छ, ढिलासुस्ती नगरी पारदर्शी ढङ्गले काम गर्नुहोस् सफल हुनुहुन्छ”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव समेत रहेका पूर्वमन्त्री लेखराज भट्टले स्वदेशी उत्पादनलाई महत्त्व दिनुपर्नेमा जोड दिए । उनले स्वदेशी उत्पादनको प्रयोग बढाउन मन्त्रालयले चालेका कदम सकारात्मक रहेको उल्लेख गरे ।

पूर्वमन्त्री कर्णबहादुर थापाले इमान्दारिता जिम्मेवारी पूरा गर्न सुझाव दिए । उनले विगतमा सरकारले सञ्चालन गरेका र अहिले बन्द भएका उद्योगहरू सञ्चालनमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री जयन्तबहादुर चन्दले आर्थिक अनियमिततामा शून्य सहनशीलता अपनाइ काम गर्न सुझाव दिए । उनले भारत र चीनले गरेको प्रगतिको सिको गर्नु जरुरी रहेको उल्लेख गरे ।

पूर्वमन्त्री शंकर कोइरालाले नीतिगत तहमा सुधार गरी इमान्दारिताका साथ काम गर्न आग्रह गरे । त्यस अवसरमा मन्त्रालयका पूर्वसचिवहरुले पनि नीति निर्माण र प्रभावकारी योजना कार्यान्वयनको सुझाव दिएका थिए।

मन्त्री दामोदर भण्डारीले पूर्वमन्त्री र पूर्वसचिवहरुको सुझावलाई अनुसरण गर्दै काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले हाल नागरिकमा देखिएको निराशालाई चिर्दै ‘सुखी नेपाली र समृद्ध नेपालको’ राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्यका साथ काम गर्ने बताए । प्राप्त सुझावका आधारमा योजना निर्माण गरी कार्यसम्पादन गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर