सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छ : योगेश भट्टराई

सत्तारूढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरूलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन्

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने सोच सत्तारूढ गठबन्धनले लिएको बताए ।

संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे । सचिव भट्टराईले दुई ठूला दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दाबी गर्दै यसले मुलुकलाई सही दिशामा अघि बढाउने बताए ।

‘संविधानमा केही कुराहरूलाई हामीले नयाँ ढंगले हेर्नुपर्नेछ, बुझ्नुपर्नेछ । त्यसको अर्थ नेपालको राजनीतिक व्यवस्थालाई पछाडि फर्काउने होइन । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्नेछ । संशोधन गर्नुपर्नेछ,’ सचिव भट्टराईले भने, ‘यसको निम्ति नेपाली कांग्रेस र एमाले अग्रसरता लिए पनि संसदमा भएका अथवा नभएका राजनीतिक शक्तिहरू र पार्टीहरूलाई एकसाथ लिएर हामी त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्न सोचिरहेका छौं । विद्वानहरूले संविधानका बारेमा आफ्ना सुझावहरू हामीले प्राप्त गर्ने नै छौं । त्यसले संविधानलाई अझै गतिशील बनाउन, संविधानलाई अझै राम्रो बनाउनका निम्ति सहयोग गर्ने नै छ ।’

सचिव भट्टराईले सरकारले मुलुकमा बाह्य लगानी भित्र्याउने गरी वैदेशिक सम्बन्धलाई अघि बढाउने विश्वास पनि व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर