बालेनलाई विद्यासुन्दरको चेतावनी : नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन

काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् ।

शनिबार नेपाल खेलकुद महासंघ, काठमाडौंले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले महानगर प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताए । उनले अरूलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुन नहुने बताए ।

उनले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले राम्रा कामहरू गरेको उल्लेख गरे । उनले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९ औं स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औं स्थानमा झरेको जिकिर गरे ।

‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरू बेलामा सुविधा सबै लिने, गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरूलाई दिने गर्छन् । त्यसमा हामीले चिन्ता लिनु पर्दैन,’ शाक्यले भने, ‘हामी काठमाडौं महानगरको मेयरको रूपमा रहँदा महानगर त्यस सञ्चालनको जिम्मा हामीले दिने भनिएको थियो । त्यसबेलामा काठमाडौं महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औं स्थानमा राखेको थियो । अहिले झारेर १७ औं स्थानमा पुर्‍याएको छ । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौं महानगरपालिकाभन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरको छ । हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ ।’

पूर्वमेयर शाक्यले स्थानीयको इच्छाविपरीत कामनपाले काम गरिरहेको बताए । उनले न्यूरोडमा नगर प्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए । उनले जनप्रतिनिधिलाई सडकमा र नगर प्रहरीलाई लाठी बोक्ने काममा लगाएको बताए ।

उनले नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताए । उनले नगर प्रहरी अनावश्यक रूपमा थपिएको बताए । उनले भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्ने कुरा सुन्न आतुर रहेको बताए ।

उनले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्ने बताए । सत्तामा भएकाहरू आफू रमाउनका लागि नभई भविष्यको पुस्ताको खुसीका लागि लाग्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर