राहदानी थन्क्याएर तरकारी खेती, वार्षिक १५ लाखसम्म आम्दानी

पछिल्लो समय देशमा अवसर नभएको भन्दै दैनिक हजारौं नेपाली विदेशिरहेका छन् । तर, पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गरिरहेका छन् ।

विदेश जान बनाएको राहदानी बाकसमा थन्क्याएर व्यावसायिक रूपमा तरकारीखेतीमा लागेका शर्मा गाउँमै बसेर मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

उमेरले ३८ वर्ष पुगेका दीपक र उनकी श्रीमती सीता शर्माले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

आफू जन्मिने बेलादेखि नै आफ्ना बुबाआमाले अँगालेको निर्वाहमुखी परम्परागत तरकारी उत्पादन पेसालाई व्यावसायिक बनाउँदै आफूले ठूलोमात्रामा तरकारीखेती थालेको उनले बताए ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै पर्छ मिलचोक । यहाँ उत्पादित तरकारी सजिलै ढुवानी गरेर छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजार, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री हुने गरेको छ ।

बिहान ६ बजेदेखि बेलुका अबेरसम्म करेसाबारीमै व्यस्त हुने शर्मा दम्पतीले लामाबगरस्थित करिब सात रोपनी खेत वार्षिक रूपमा एक लाख २० हजार भाडामा तथा बाँकी आफ्नै खेतबारीमा तरकारी खेती गरेका छन् । वर्षायाममा १० रोपनी र हिउँदयाममा १५ रोपनी क्षेत्रफलमा तरकारी लगाउने गरेको दीपकले बताए ।

पाँच रोपनी क्षेत्रफलमा वर्षायाममा धान रोपाइँ गर्दै आएका छन् । करेसाबारीमा काँक्रो, सिमी, बोडी, भ्यान्टा, लौका, करेला, घिरौँला र खुर्सानी, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएका छन् । सिजनअनुसार आलुखेती गर्छन् । उत्पादन भएको ताजा तरकारी लिन व्यवसायी घरमै आउने भएकाले बिक्रीको समस्या नरहेको उनले बताए ।

करेसाबारीबाटै दैनिक रूपमा तरकारी बिक्री गर्ने शर्माले वार्षिक १५ लाखसम्मको आम्दानी हुने गरेको बताए । मेहनत गर्नसकेमा दुःखअनुसार कमाई पनि हुने भएकाले श्रीमान्लाई विदेश नपठाएको सीताले बताइन् । ‘विदेश गए पनि दुःख नै गर्नुपर्छ, त्यहाँ गर्ने दुःख यहीँ गर्न सकेमा आम्दानी पनि हुन्छ, घरपरिवारसँग बस्दा सबैलाई आनन्द पनि हुन्छ,’ उनले भनिन्, ‘मैले श्रीमान्लाई विदेश जान दिइनँ । यही माटोमा सँगै परिश्रम गरौँ भनेँ । छरछिमेकका साथीहरु विदेश गएको देखेर राहदानी बनाएको भए पनि जान रोकेकी हुँ ।’

दीपक दम्पतीले आफूले गर्न नसकेको काम दैनिक ज्यालादरी मजदुर राखेर गर्दै आएको बताए । दीपककी आमा भद्रकली शर्माले आफूले पहिल्यैदेखि निर्वाहमुखी रूपमा गर्दै आएको पेसालाई छोराबुहारीले अगालेकामा दङ्ग छिन् । ‘अहिले उनीहरूले धेरै जग्गामा लगाएका छन्, कमाइ राम्रो भएकामा हामी बूढाबूढी खुसी छौँ,’ उनले भनिन् ।

तरकारीबाट भएको आम्दानीले छोरालाई निजी विद्यालयमा पढाएका छन् भने बाँकी रकम बैंकमा बचत गर्ने गरेको दीपकले बताए । अहिले परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै सबैभन्दा बढी आत्मसन्तुष्टि प्राप्त भएको दीपकको अनुभव छ । उनले सबैजसो खर्च कटाएर वार्षिक छदेखि सात लाख बचत हुने गरेको बताए ।

विदेशमा गए पनि मरिमेटेरै दुःख गर्नुपर्ने भएकाले आफ्नै खेतबारीमा पसिना बगाउन उनले भविष्यको खोजीमा विदेशिन लागेका युवालाई सुझाव दिए । उनले व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्न चाहने युवालाई आफूले ज्ञान, सीप र प्रविधिका साथै बजारीकरणमा  सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर