कानुन निर्माणले संविधानको कार्यान्वयनमा बल पुग्छ : मन्त्री भण्डारी

उद्योग, वाािण्ज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समितिमा विचाराधीन विधेयकलाई संसदमा छिटो पठाउन सांसदहरूले चासो दिनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संशोधनकर्ता सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

समितिमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल भएको थियो । बैठकमा बोल्दै मन्त्री भण्डारीले विधेयकहरू अन्य समितिमा पनि छलफल र संशोधनका क्रम जारी रहेको बताए ।

उनले संसदको गत अधिवेशनमा पास गर्नुपर्नेजति कानुनहरू पास हुन नसकेको भन्दै अहिले विशेष ध्यान दिनुपर्ने बताए । उनले समिति सदस्यहरूको चासो, सरोकार र प्राथमिकतामा विधेयकहरू पर्नुपर्ने भन्दै सरकारका तर्फबाट पनि संसदलाई बढीभन्दा बढी बिजनेस दिनुपर्ने आवश्यकता रहेको बताए ।

उनले कानुन निर्माणले संविधान कार्यान्वयनमा बल पुग्ने बताए । ‘अहिलेका अत्यावश्यक कानुनहरू जो जरूरी छन्, संविधान कार्यान्वयनका लागि पनि अत्यावश्यक छन् दूरगामी महत्त्वका ऐनहरू,’ मन्त्री भण्डारीले भने, ‘यतिखेरको ती ऐनबाट संविधानको कार्यान्वयनमा बल पुग्छ ।’

मन्त्री भण्डारीले प्रदेश वा स्थानीय तहमा संघीय संसदका कानुनहरू निर्माण भइसकेपछि मात्रै कानुन लागू हुने र संघका आधारमा कानुन निर्माण गर्ने हुँदा संघमा छिटोभन्दा छिटो कानुन पारित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री भण्डारीले समितिमा विधेयकमा सांसदहरूले बढी सहभागिता, उत्सुकता देखाउन जरूरी रहेको बताए । कानुन निर्माणसँगै कानुनका अभावले प्रभावित भएका थुप्रै कामहरूलाई डेलिभरी दिन र सरकारलाई प्रभावकारी बनाउन सकिने उनको धारणा थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर