नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूतको टिप्पणी सह्य छैन : सभापति यादव
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदुत छन सोङले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताएका छन्।
उनले भारतबाट हराएका बसु र यात्रुहरू खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदुतले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताए। उनले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ भन्ने मात्रै अधिकार राजदुतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताए। यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने उनको भनाइ छ। सभापति यादवले राजदुतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको उल्लेख गरे।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको भन्दै समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने भन्दै नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका राजदुतहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालीहरु सह्य नहुने बताए। मन्त्रालयसँग सो बारेमा जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने पनि उनले बताए।
उनले भने, ‘नेपालमा दुर्भाग्यपूर्ण दुर्घटना भयो । त्यो दुर्घटनामा जो बेपत्ता मान्छेहरु र सँगैसँगै दुई वटा बस हराइरहेको छ । त्यसलाई अहिले पनि नेपाल सरकारले खोज्ने कार्यमा व्यस्त रहेको छ । सँगै नेपालले आफ्ना मित्र राष्ट्र अरुसँग पनि सहयोग मागेको स्थिति छ । त्यसमा भारतबाट खोज्ने टोली आएको र त्योसँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदुतले त्यसरी टिप्पणी गरेको छ । त्यो दुर्भाग्यपूर्ण हो । यसलाई उहाँले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ रु वा चिनियाँ स्वार्थ छ, त्यसलाई नेपालमा कसरी लागू गराउन सकिन्छ भन्ने प्रमुख कार्य हो । तर उहाँले नेपालको आन्तरिक मामिलामा र त्यसमा पनि अहिले सामाजिक सञ्जालमा टिप्पणी गरेको छ, त्यसमा सम्मानित सदनमा यो कुरा उठेको छ, यो त दुई देशको सम्बन्धका लागि पनि राम्रो होइन । एउटा राजदुतले आफ्नो पदीय मर्यादा भन्दा बाहिर गएर आचरण गरेको देखिन्छ । यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ । परराष्ट्र मन्त्रालयले यसबारेमा के गर्दैछ, आगामी बैठकमा हामीले त्यो सम्बन्धी परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने नै छौँ । तथापि अहिले एउटा जनप्रतिनिधिको नाताले र समितिको नेतृत्व कर्ताको नाताले पनि नेपालको आन्तरिक मामिलामा हाम्रा मित्रराष्ट्रका राजदुतहरुले यसरी टिकाटिप्पणी गर्नु राम्रो होइन, गर्नु हुँदैन । यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका रुपमा बुझेका छौँ । यसले दुई देशको सम्बन्धलाई राम्रो गर्दैन भनेर हेक्का राख्दा नै राम्रो हुन्छ । हामीले कुनैपनि देशको राजदुतलाई हाम्रो आन्तरिक मामिलामा टिकाटिप्पणी गर्ने, निर्देशन दिनेकुरा सह्य हुँदैन । यो भयो भने अरु देशका राजदुतले यसो गर् । उसो गर् भनिरहन्छ । त्यसैले हामीले परराष्ट्र मन्त्रालयलाई के कारणले यस्ता टिका टिप्पणी भइरहेको छ, यसलाई तत्काल रोकथाम गर्न मन्त्रालयले के पहल गरेको छ, त्यो जानकारी लिइसकेपछि मन्त्रालयलाई दिने निर्देशन र प्रभावकारी कदमका लागि काम हुनेछ ।’
राजदुत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। सो विषयलाई लिएर संसदमा पनि सांसदहरूले आवाज उठाइरहेका छन्। राजदुतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरूको छ।
प्रतिक्रिया