जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने

जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने भएको छ।

नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जनाएको हो।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।

उनले २०८० पुस १ गते भौतिक मन्त्रालयमार्फत जनकपुरधामबाट अयोध्या हुँदै दिल्लीसम्मका लागि रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिए पनि पहिलो चरणमा अयोध्यासम्म मात्रै सञ्चालनमा आउने बताए।

महाप्रबन्धक झाका अनुसार पहिलो चरणमा अयोध्यासम्म मात्रै रेल सञ्चालनमा ल्याउने तयारी गरिए पनि दिल्लीसम्म रेल सेवा सञ्चालन गर्नका लागि पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले सप्ताहको एक दिन अयोध्यासम्म जनकपुरधामबाट रेल गुड्ने तयारी स्वरुप समय तालिका समेत सार्वजनिक गरिसकेको जनाए।

रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपुरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान साढे बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको उनकाे भनाइ छ।

उनले भंगहादेखि बर्दिवाससम्मको रेल्वे लिक निर्माणको कार्य चाँडै सुरु गर्ने बताए।  मुआब्जा वितरणको काम ८५ प्रतिशतसम्म सम्पन्न भइसकेको र बाँकी १५ प्रतिशतमा विवादहरू रहेकाले सोको समाधानका लागि पहल भइरहेको उनले सुनाए।

मन्त्रालयबाटै त्यो विवाद समाधान गर्ने पहल भइरहेकाले चाँडै नै विवाद समाधान गरेर कार्तिक महिनादेखि निर्माण कार्य अगाडी बढाइने सम्भावना रहेको उनी बताउँछन्। त्यस्तै कार्गो रेल सेवा सञ्चालनका लागि भारत सरकारसँग समन्वय भइरहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर