भोगेन्द्रको कुटपिटबाट हत्या गरिएको भन्दै मिटरब्याज पीडितहरुको प्रदर्शन

धनुषाको धनुषाधाम नगरपालिका-२ मंगलपुरका भोगेन्द्र ठाकुरको कुटपिटबाट हत्या गरिएको भन्दै मिटरब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्।

श्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितले बिहीबार शवसहित जनकपुरधाम नगरमा प्रदर्शन गरेका हुन्।

श्मसानघाटबाट ट्याक्टरमा शव राखेर जनकपुरधामको रामचोक, जाकचोक, शिवचोक, भानुचोक हुँदै प्रदर्शनकारीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

उनीहरुले गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध समेत नाराबाजी गरेका छन्। ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो।

तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै जलाउन रोकिएको हो। श्मसानघाटमै शव राखेर सयौंको संख्यामा बुधबारदेखि प्रदर्शनमा उत्रिएका थिए। ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनको श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी थिइन्।

भोगेन्द्रको श्रीमती श्यामुका अनुसार उनी नुहाई रहेको समयमा मोबाइलमा भिडियो खिच्न खोज्दा विवादको सुरुवात भएको र लेनदेनको विषयलाई लिएर आफूहरूमाथि कुटपिट गरिएको र श्रीमानको हत्या गरिएको बताइन्।

मृतक ठाकुरले शिवजीबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए। उनको श्रीमती श्यामुले आफूले जग्गा बेचेर पैसा बुझाए पनि हिसाब दिन नमान्दा शिवजी यादवसँग पटक पटक विवाद हुँदै आइरहेको बताइन्।

यही कारण शिवजीले पटक पटक ज्यान मार्नेसम्मको धम्की दिएपछि केही दिनअघि ठाकुरले जिल्ला प्रहरी कार्यालय धनुषामा शिवजीमाथि मिटरब्याजसम्बन्धी उजुरी दिएका थिए।

त्यसकै निहुँमा शिवजीकै योजनामा हत्या भएको हुन सक्ने आशंका गरिएको छ। हत्या आरोपमा स्थानीय ४५ वर्षीय सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वर मुखियालाई प्रहरीले पक्राउ गरेको छ।

उनको हत्या स्थानीय मिटरब्याजी शिवजी यादवको योजनामा भएको दाबी गर्दै उनीसहित घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने मिटरब्याज पीडितको माग छ।

मिटरब्याजी शिवजीलाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिको अडान छ। शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म ठाकुरको शव नजलाउने मिटरब्याज पीडितहरुको अडान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर