बाढी-पहिरोमा परी हालसम्म १४५ जनाको मृत्यु

गत जेठ २८ गतेयताको अविरल वर्षा र त्यसले उत्पन्न विपद्मा परी हालसम्म १ सय ४५ जनाको मृत्यु भएको छ ।

बाढी-पहिरोलगायतका विपद्मा परी बुधबार दिउँसोसम्म उक्त मानवीय क्षति भएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी १ सय ७४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी ७३ जनाको उद्धार गरिएको छ । बाढी-पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीका कारण जम्मा १ सय ८४ घर डुबानमा परेका छन् । २ सय ४८ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६ सय ७२ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ६३ घरपरिवार विस्थापित भएका छन् ।

बाढी-पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, बाटो अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर