सीआईबी प्रमुख श्याम ज्ञवालीमाथि छानबिन

प्रहरी महानिरीक्षक मातहत रहेका विभिन्न निकायमध्ये एक निकाय हो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) । तर, बीचमा सीआईबी प्रमुख भएका श्याम ज्ञवालीले आफ्नो पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रै छानबिन भएको छ । भविष्यमा प्रहरी अधिकारीको हैसियत गैरव्यावसायिक उद्देश्यका लागि दुरुपयोग हुन सक्ने सम्भावनालाई निरुत्साहित गर्न ज्ञवालीमाथि कारबाही गर्ने सरकारको तयारी छ ।

ज्ञवालीले अनुसन्धानमा बदनियत राखेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईको नेतृत्वमा छानबिन गरेको छ । सुन तस्करीको अनुसन्धानमा बदनियत राखेको आरोप लगाउँदै तत्कालीन गृहमन्त्री रवि लामिछानेले सीआईबीबाट एआईजी किरण बज्राचार्यलाई हटाएर चैत पहिलो साता एआईजी ज्ञवालीलाई पठाएका थिए । तर, ज्ञवाली सीआईबीमा गएपछि सुन तस्करीमा संलग्न कुनै पनि व्यक्तिमाथि थप अनुसन्धान भएन । बरु, तत्कालीन गृहमन्त्री लामिछानेविरुद्ध पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीले गरेको अनुसन्धानसमेत दबाए ।

बालमन्दिर जग्गा प्रकरणमा मृतकका नाममा पनि अदालतबाट पक्राउ पुर्जी जारी गराएको, बालमन्दिर प्रकरणसँगै जोडिएका व्यापारीसँग अस्वाभाविक हिमचिम गरेको, तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपितहरूसँग ‘नाजायज’ र ‘अस्वाभाविक सम्बन्ध’ राखेको लगायत विषयमा छानबिन गर्न समिति गठन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । केही मुद्दाका प्रतिवादीसँग आर्थिक लेनदेन गरेको आरोपमा सूक्ष्म अनुसन्धान भइरहेको स्रोतको भनाइ छ ।

‘सीआईबीले कसुर हेरेर होइन, व्यक्ति हेरेर मुद्दाको अनुसन्धान गर्छ, तथ्य र प्रमाणभन्दा पनि कसैको आग्रह/पूर्वाग्रह र भनसुन तथा प्रतिशोधमा अनुसन्धान हुन्छ भन्ने भाष्य बन्दै गएको छ, त्यसैले सीआईबीले अनुसन्धान गरिरहेका विषय र यसमा संलग्न अधिकारीका गतिविधिमा छानबिन गर्न समिति बनाइएको हो,’ एक अधिकारीले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर