२१ वर्षपछि थिमि ताहनानीमा भैरव नाच

मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यस वर्ष वडा नं. ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ। गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवं धार्मिक महत्त्वको भैल प्याखँ २१ वर्षपछि ताहाननीबाट प्रदर्शन हुन लागेको हो ।

गुरुपूर्णिमादेखि प्याँख अर्थात् नाचको प्रशिक्षण सुरु गरिएको छ । थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुंगः  एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एकजना गरी कुल पाँचजना देवीदेवता रहन्छ ।

अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी (कुमारी), साहिल प्रजापतिले लिपा दाँगी (महालक्ष्मी) र ज्यापुंगचा (हरिसिद्धि) मा कृशल प्रजापतिले भूमिका निर्वाह गर्ने थिमि भैलः प्याखँ व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले जानकारी  दिए ।

थिमिका जीवित सांस्कृतिक धरोहर सांस्कृतिक र परम्परागत प्याखँ एवं वाद्यवादन गुरु श्रीगोपाल प्रजापतिको नेतृत्वमा गुरुहरू कृष्णबहादुर प्रजापति, बालकृष्ण प्रजापति, चन्द्रभक्त प्रजापति र प्रेमकृष्ण प्रजापतिले प्याखँको प्रशिक्षण गराइरहेका छन् ।
त्यसैगरी वाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरू करिब तीन दर्जनको संख्यामा रहेका छन् । यसका साथै प्याखँका कलाकारका सहयोगीसमेत करिब ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको व्यवस्थापन समितिका उपाध्यक्ष प्रजापतिले बताए ।

किंवदन्तीअनुसार परापूर्वकालमा थिमि क्षेत्रका जनतालाई भूतप्रेतले अत्यधिक दुःख दिइरहन्थे । रातको समयमा मात्र नभई दिनको समयमा पनि दुःख दिन थालेपछि किसान खेतीपाती गर्न जान पनि डराउन थाले ।

त्यसपछि राजाले तान्त्रिक, विद्वान्, नामुद शास्त्रज्ञहरूसँग छलफल गरी मानिसमा तान्त्रिक रूपमा भैरवनाथ जगाई टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेत भाग्ने र कहिले नआउने सुझाव दिएपछि थिमिमा भैलः प्याँख अर्थात् भैरव नाच सञ्चालनमा आएको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर