धनगढीमा अस्पताल भन्दै चर्च चलाउने कम्पनीको व्यवसाय दर्ता खारेज

कैलालीको धनगढीमा अस्पताल सञ्चालनका लागि भन्दै जग्गा भाडामा लिएर चर्च निर्माण गर्ने कम्पनीको व्यवसाय दर्ता खारेज भएको छ ।

वडा नम्बर ७ को कार्यालयले धनगढी उपमहानगरपालिका-७, मनेहरामा छालासम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गर्ने लेट मेइन नेपाल धनगढी प्राइभेट लिमिटेड र नेपाल लाइफ वर्ल्ड मिसन धनगढी कम्पनीको व्यवसाय दर्ता खारेज गरेको हो ।

सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा लेट मेइन नेपाल र नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएका थिए । चर्चमा इसाई धर्म प्रचार गर्न दुई जना कोरियन नागरिकसमेत रहेका थिए । छालासम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयले विरोध गरेका थिए ।

भवनमा हरेक शनिबार संगती लाग्न थालेपछि अस्पताल भन्दै चर्च खुलेको रहस्य बाहिर आएको थियो । असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले उक्त भवनमा धनगढी मण्डली सञ्चालनमा ल्याएको हो ।

अस्पताल भन्दै चर्च सञ्चालन गरिएको भनेर जनगुनासो बढेपछि धनगढी उपमहानगरपालिकाले साउन १० मा गठन गरेको स्थलगत अध्ययन समितिले अध्ययन गर्दा व्यवसाय दर्ता प्रमाणपत्रमा उल्लेख भएभन्दा फरक कार्य गरेको पाइएको थियो । समितिको स्थलगत अध्ययन प्रतिवेदनका आधारमा उपमहानगरपालिकाको आइतबार (साउन १३) को निर्णयअनुसार कम्पनीका व्यवसाय दर्ता खारेज गरिएको हो ।

यस घटनामा स्याङ्जाका पुकार विक, सोलुखुम्बुका प्रशान्त राई भनिने प्रेम दोर्जी राई र धनगढीका वीरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएका थिए । स्थानीयको गुनासो आएपछि गत मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चर्चको अनुगमन गरेका थिए । सो टोलीमा जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारीसमेत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *