आइकाओको प्रतिवेदन एकसाताभित्र समितिमा पेस गर्न निर्देशन

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रतिवेदन एकसाताभित्र समिति समक्ष पेस गर्न संस्कृति, पर्यटन तथा नारिक उड्डयनमन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको आज सिंहदरबारमा भएको बैठकले एकसाताभित्र प्रतिवेदन समितिमा पेस गर्न पर्यटनमन्त्रीलाई निर्देशन दिने निर्णय गरेको हो। समितिका सभापति राजकिशोर यादवले समितिले चिठी लेखेर आइकाओको प्रतिवेदन मगाउँदा पनि प्राप्त नभएको भन्दै अप चिठी लेख्न नपर्नेगरी समयभित्रै प्रतिवेदन बुझाउन आग्रह गरे।

यस्तै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकबारे समितिलाई जानकारी गराउन पनि बैठकले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ। पर्यटन मन्त्रालयको पहलकदमीले विधेयक अगाडि बढ्न नसक्ने हो भने प्रधानमन्त्री तहमा कुरा गरेर भए पनि अगाडि बढाउन समितिले सक्रियता देखाउने सभापति यादवले बताए। उनले भने, ‘प्राधिकरण विभाजनसम्बन्धी विधेयक कहाँ र कुन अवस्थामा छ, अर्को बैठकमा आउँदा समितिलाई जानकारी गराउनुपर्छ।’

सभापति यादवले डेढ वर्षको अवधिमा काम गरेको जानकारी भएको तर परिणाम नदिएको भन्दै अबका दिनमा कुरा हैन परिणाम चाहिने बताए। समितिका अधिकांश सांसदले मुलुकको हवाई सुरक्षालाई दृष्टिगत गर्दै प्राधिकरण विभाजनसम्बन्धी विधेयक अगाडि बढाउन माग गरेका थिए।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ विसं २०७६ फागुन ११ मा राष्ट्रियसभामा दर्ता गराएका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरण एने–२०५३ अन्तर्गत स्थापित प्राधिकरणले नियमन र हवाई सेवा प्रदायक दुवै सेवा दिँदै आएको छ। नियामक र सेवा प्रदायक गरी अलग–अलग निकायको रुपमा बनाउने प्रयोजनका निम्ति उक्त विधेयक अगाडि बढाइएको हो । विसं २०७८ साउन १८ गते राष्ट्रियसभाबाट पारित उक्त विधेयक अहिले निष्क्रिय छ। विसं २०७९ असोज १ गते प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको हो।

समितिले युरोपेली संघ (इयू)को सुरक्षा सूचीबारे के कति प्रगति भएको हो र अब कतिसमयपछि नेपाल उक्त सूचीबाट हट्छ भन्नेबारे विस्तृत विवरणसहित समितिको अर्को बैठकमा उपस्थित हुन प्राधिकरणलाई निर्देशन दिएको छ।

कोरियन एयरलाइन्सको एकाधिकार तोड्न र नेपाल एयरलाइन्सको विमान कोरिया उडान सम्बन्धमा जानकारी दिन तथा यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी प्रतिवेदन पनि समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पसल कवल भाडामा लगाउनेसम्बन्धी कागजात एक साताभित्र समितिमा पेस गर्न पनि समितिले निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *