नेपालको शासकीय निर्वाचन प्रणाली ‘खिचडी’जस्तो : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वाभाविक भए पनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्न सक्नुपर्ने बताए । उनले एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकूल संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसंस्कारको रूपमा पछिसम्म स्थापित हुने बताए । अध्यक्ष भट्टराईले विज्ञान र प्रविधिको समयमा पनि चेतनाको विकास हुन नसक्दा मानिसले संस्कृतिको नाममा विभेदकारी र अवैज्ञानिक कुरा पछ्याएर बसेको बताए ।

अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्षयता नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरे । उनले सामाजिक सञ्जालमा बाबुराम र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे ।

उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सखर) र गोबर झैं भएको उल्लेख गरे । अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसद्मा पठाउने गरी तयारी गर्न पनि नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।

उनले नेपालजस्तो बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जाती, भाषाअनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए । उनले नेपालको शासकीय निर्वाचन प्रणाली खिचडीजस्तो भएको बताए ।

अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्तिहरू संकलन गरी समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *