सरकारको अनिर्णयले डीआईजीमा अवकाश पोखरेलको रिट दर्ता गर्न सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भए पनि प्रहरी नायब महानिरीक्षक (डीआईजी) मै अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न आदेश दिएको छ ।

बढुवा हुने पक्का भएपछि पनि सरकारको अनिर्णयले एआईजी हुने मौका गुमाएका पाखरेलले दिएको रिट दर्ता गर्न आदेश भएको हो ।

बढुवा सिफारिस भएर पनि नियुक्ति नदिएपछि पोखरेलले ६ साउनमा सर्वोच्च अदालतमा रिट हालेका थिए । बढुवा नगरेका कारण अवकाश हुनुपरेको भन्दै पोखरेल प्रधानमन्त्री कार्यालयसमेतलाई प्रतिवादी बनाउँदै सर्वोच्च पुगेका थिए ।

तर, सर्वोच्च अदालत प्रशासनले उनको रिट दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको थियो ।

आफ्नो रिट दरपिठ भएपछि पोखरेलले त्यसविरूद्ध अर्को निवेदन दिएका थिए । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको मागबमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अब पोखरेलको रिट दर्ता हुनेछ ।

१० असारमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

सिफारिसअनुसार बढुवा भएको भए उनी २० र २१ असारमा दुई दिनका लागि एआईजी हुने थिए । तर, त्यहीबीच सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरेलको एआईजी बढुवामा कुनै निर्णय गरेन । त्यही कारण पोखरेल १९ असारदेखि अनिवार्य अवकाशमा गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *