रोकिएन विमानस्थलबाट हुने मानव तस्करी

भक्तपुरकी ३३ वर्षीया माया शर्मा (परिवर्तित नाम) वैदेशिक रोजगारमा जाने मनस्थितिमा थिइन् । एकल आमा रहेकी उनलाई छोरी हुर्काउने जिम्मेवारीले पनि वैदेशिक रोजगारमा जान उत्प्रेरित गरिरहेको थियो । यही क्रममा उनको भेट मोरङ रंगेली नगरपालिका– ३ का ५७ वर्षीय कृष्ण अधिकारी भनिने झयन्द्रप्रसाद अधिकारीसँग भयो । उनले आफू वैदेशिक रोजगारीमा जान खोजेको बताइन् । अधिकारीले पनि उनलाई मासिक ४० हजार रुपैयाँमा दुबईको प्रतिष्ठित कम्पनीमा पठाइदिने प्रलोभन दिए । र, त्यसका लागि दुई लाख रुपैयाँ लाग्ने बताए ।

मायाले ऋण गरेर दुई लाख रुपैयाँ अधिकारीलाई ललितपुरको सातदोबाटोस्थित डेरामा लगेर बुझाइन् । उनी जब भिजिट भिसामा दुबई पुगिन्, अनि उनको दुर्दिन सुरु भयो । उनलाई दुबईमा नेपालीले नै सञ्चालन गरेको होस्टेल (सेफ हाउस, जहाँ घरेलु मजदुरका लागि लगिएका नेपाली महिला राख्ने गरिन्छ)मा लगियो । तर, उनलाई एजेन्टले कम्पनीमा काम लगाएन । प्रतिमहिना ३५ हजार रुपैयाँ दिने प्रलोभनमा सोही होस्टेलमा घरेलु मजदुर बनायो ।

काम त उनको होस्टेलमा राखिएका महिलालाई खाना पकाउने, भाँडा माझ्ने र सरसफाइ गर्ने भनिएको थियो । तर, सञ्चालकले उनीमाथि यौन शोषणसमेत गर्न थाल्यो । यही क्रममा शर्मा गर्भवती भइन् । उनलाई होस्टेल सञ्चालकले गर्भपतनका लागि दबाब दिन थाल्यो । नमानेपछि सञ्चालकले उनलाई विवाह गर्ने प्रलोभन दियो । यसका लागि उनको सर्त थियो– सुरुमा गर्भपतन अनि विवाह । प्रलोभनमा परेकी उनी गर्भपतनका लागि नेपाल आइन् । र, बल्खुस्थित वयोधा अस्पतालमा गर्भपतन गरिन् । र, पुनः दुबई गइन् । तर, होस्टेल सञ्चालकले उनीसँग विवाह गर्न इन्कार गरे । बदलामा कुवेतस्थित राम्रो कम्पनीमा मासिक ६७ हजार पाँच सय रुपैयाँ कमाइ हुने गरी काम लगाइदिने प्रलोभन दिए ।

आर्थिक अभावले जर्जर बनेकी उनी कुवेत गइन् । कुवेतमा श्रीलंकन नागरिकले सञ्चालन गरेको होस्टेल (सेफ हाउस, जहाँ घरेलु मजदुरका लागि विभिन्न मुलुकबाट ल्याइएका महिला राख्ने गरिन्छ)मा लगेर उनलाई राखियो । उनको अर्को दुर्दिन पुनः सुरु भयो । श्रीलंकन नागरिकले उनको मोबाइल फोन, पासपोर्टलगायत सबै कागजात खोस्यो । उनलाई कोठामा बन्धक बनायो । निरन्तर यौन शोषण गर्‍यो । नेपाल फर्कन खोज्दा बल्ल उनलाई थाहा भयो– दुबईस्थित नेपाली एजेन्टले उनलाई ६ लाख ७५ हजार रुपैयाँमा बेचिसकेका रहेछन् ।

१८ घण्टा काम, ७० वर्षीय वृद्धबाट यौन शोषण
आर्थिक विपन्नतामा जुधिरहेकी काठमाडौंकी ३० वर्षीया नेहा नेपाल (परिवर्तित नाम) वैदेशिक रोजगारमा जाने योजनामा थिइन् । उनको भेट सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ का ३२ वर्षीय ङेमा लामासँग भयो । उनले प्रतिमहिना ६५ हजार रुपैयाँ कमाउने गरी घरेलु मजदुरका रूपमा कुवेत पठाइदिने प्रलोभन दिए ।

आफ्नी श्रीमतीसमेत कुवेतमै रहेको हुँदा वर्किङ भिसा नै मिलाइदिने प्रलोभन लामाले दिए । यसका लागि ९५ हजार रुपैयाँ अग्रिम दिनुपर्ने बताए । नेहाले जोरपाटी पुगेर रकम दिइन् । त्यसको महिना दिनपछि भिसा आयो । उनी जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन्, बल्ल थाहा पाइन्– उनका लागि आएको भिसा वर्किङ नभई भिजिट रहेछ । उनी भिटिज भिसामै कुवेत पुगिन् । कुवेतस्थित लामाको एजेन्टले उनलाई ‘गोल्डेन विङ्स’ नामको कम्पनीमा लगिन् । र, भोलिपल्ट कुवेतस्थित शेखको घरमा घरेलु कामदारका रूपमा नियुक्त गरिन् । भाँडा माझ्ने, लुगा धुने, घर पुछ्नेसहित ७० वर्षीय वृद्धको हेरचाह गर्नुपर्ने उनको जिम्मेवारी थियो ।

१८ घण्टा खटिनुपर्ने भए पनि सुरुमा उनी चुपचाप काममा खटिइन् । तर, उनीमाथि जब ७० वर्षे वृद्धको यौन शोषण सुरु भयो, उनका दुःखका दिन सुरु भए । उनले आफूले पाएको पीडा ‘एजेन्ट’ लामालाई बताइन् । श्रीमान्सँग दुःख पोखिन् । आफूलाई नेपाल फर्काइदिन ‘एजेन्ट’ लामासँग आग्रह गरिन् । तर, उनले अर्को ठाउँमा लगेर तीन महिना बन्धक बनाइदिए । र, शेखकहाँ लगेर अझ कष्टकर काम लगाइदिए । पीडा ज्यादा भएपछि उनी जसोतसो भागेर कुवेतस्थित नेपाली दूतावास पुगिन् । तर, घर मालिकले उनीविरुद्ध प्रहरीमा उजुरी दियो । उनी पक्राउ परिन् । बुझ्दा थाहा भयो, उनलाई लामासहितको गिरोहले चार लाख ९८ हजार रुपैयाँमा घरेलु मजदुरका रूपमा बेचेका रहेछन् ।यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *