भारतीय दूतावासमा मनाइयो आषाढ पूर्णिमा
काठमाडौंस्थित भारतीय राजदूतावासमा आषाढ पूर्णिमा मनाइएको छ । सो अवसरमा दूतावासले विशेष कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रममा थेरावडा संघ, महायाना संघ र बज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । त्यसपछि बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अर्पण गरिएको थियो ।
नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएको शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै भारत र नेपालमा रहेका पवित्र बौद्धस्थलले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई उदाहरणका रूपमा चित्रण गरेको बताए ।
उनले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिका रूपमा रहेको बताए ।
भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँच जना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिएको दिनलाई गुरू पूर्णिमामा स्मरण गर्ने गरिन्छ ।
बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टांगिक मार्ग’ बारे उपदेश दिएका थिए । यस दिनलाई ‘धर्मचक्रको पहिलो फन्को’ का रूपमा पनि चिन्ने गरिन्छ ।
प्रतिक्रिया