सिमलताल बस दुर्घटनाका बेपत्ता खोज्न आइपुग्यो भारतीय उद्धार टोली

गत असार २८ गते नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा लेदोसहित खसेको पहिरोले बगाएर त्रिशूली नदीमा खसी बेपत्ता दुई बसका यात्रु खोज्न भारतबाट उद्धार टोली आइपुगेको छ । टोली आजै उद्धार र खोजीमा खटिँदै छ ।

दुर्घटनामा बेपत्ताहरूको खोजीका लागि भारतले सहयोग गर्ने नवगठित नेपाल सरकारका गृहमन्त्री रमेश लेखकसँगको हालैको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका थिए । भारतका तर्फबाट आएको सो प्रतिबद्धताअनुसार टोली यहाँ आइपुगेको हो ।

बेपत्ताहरूको खोजीका लागि विदेशबाट विज्ञ टोली झिकाउने कुरा भइरहेका बेला निकट दक्षिणी छिमेकी भारतले टोली पठाएको हो ।

त्रिशूली नदीमा गत शुक्रबार खसेको बसमा चढेका यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ भने ३७ जनाको अवस्था अझै अज्ञात छ । दुर्घटना भएको बसबाट ३ यात्रुले पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए ।

चितवन आइपुगेको १२ सदस्यीय भारतीय उद्धार तथा खोजी टोलीले आजै घटनास्थल पुगेर काम थाल्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । नेशनल डिजास्टर रेस्पोन्स फोर्स भारतबाट विशेषज्ञसहितको टोली भैरहवा हुँदै चितवन आइपुगेको हो । उनीहरूले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रको टिमसँग रहेर कार्य गर्नेछन् ।

सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका दुईवटा बस अझै भेटिएका छैनन् भने बसमा सवार यात्रुहरूको शव एक सय किलोमिटर पर भारतीय भूमिहरूमा समेत भेटिन थालेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहानसम्ममा २५ वटा शव फेला परेका हुन् ।

पछिल्लो पटक नवलपरासीस्थित नारायणी नदी क्षेत्रबाटै शव फेला परेको हो । जसमध्ये २१ पुरूष र चार महिला छन् । तीमध्ये १८ जनाको सनाखत भएर परिवारले शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिए । दुईवटा बसमा ६५ जना यात्रु सवार थिए । तीमध्ये ३ यात्रु पौडिएर बाँच्न सफल भएका थिए भने अन्य बेपत्ता भएका थिए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी पाँच सय सुरक्षाकर्मीले निरन्तर सोनार क्यामेरा, र्‍याफ्टबोट, मोटरबोट, गोताखोर र पैदलमार्फत खोजी कार्य गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *