सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण
नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडक ट्र्याक खोल्ने कार्य पूरा गरेको छ ।
यस अवधिमा जडान गरिएका ३८ वटा बेलिबृज र खोलिएका ती ट्र्याक सडक विभागलाई हस्तान्तरण गरिसकिएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक धर्मेन्द्र झाले बताए ।
नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकाको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको छ ।
हाल सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुई वटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ । त्यसको कूल लम्बाइ २७४.५३७ किलोमिटर लम्बाइ छ । त्यसमध्ये रणनीतिक महत्वका चार वटा उत्तर–दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन् ।
हाल निर्माणाधीन आयोजना दार्चुला–टिङ्कर ७९ किमी, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ ९२ किमी, कर्णाली करिडोर(लालीबगर–बगर–दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) २२ किमी र खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोघप्पा खण्ड) १०.५१ किमी हुन् । मुलुकको सर्वाधिक महत्वको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना ९७०.९७७ किमी पनि नेपाली सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको छ ।
सेनाले यसअघि सुर्खेत–जुम्ला ८८ किमी, बेनी–जोमसोम ९१ किमी, छिञ्चु–जाजरकोट ४५ किमी, बेंसीसहर–चामे ६५ किमी, नाग्मा–गमगढी ९४ किमी सडकको ट्र्याक खोलेको थियो । काठमाडौँ–तराई–मधेस द्रुतमार्गको सुरु पाइलट ट्र्याक ८० किमी, मैलुङ–स्याफ्रुबेंसी १७ किमी, जाजरकोट–डोल्प दुनै ११७ किमी, कालीगण्डकी करिडोर-गुल्मी–बागलुङ खण्ड ७५ किमी र कडाली करिडोर-खुलालु–लैफू–सलिसल्ला खण्ड १२२ किमी पनि नेपाली सेनाद्वारा सम्पादित सडक आयोजना हुन् ।
प्रतिक्रिया