खण्डहर बने गाउँका ‘दरबार’

दुई दशकअघिसम्म मौलिक कलायुक्त घर हेर्न आउनेका लागि पर्यटकीय ‘हब’ नै थियो धनकुटाको मुगा । पुराना शैलीका कलात्मक ठुला घर हेर्न मात्रै पनि आउने र ती ‘गाउँका दरबार’ हेरेर फर्किनेहरू मुगाका भव्य संरचना देखेर मोहित हुन्थे तर अहिले मुगा गाउँका ती आलिसान महल खण्डहरमा परिणत हुँदै छन् ।

पाँच पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको मुगा गाउँको बिचमा रहेको ५२ ढोकाको घर पनि दरबारकै रूपले परिचित थियो । पूर्वप्रधानमन्त्री थापाको ५२ ढोके ऐतिहासिक घर द्वन्द्वकालमा भत्कियो । २०१५ सालमा मुगाबाट काठमाडाँै आए पनि जुनसुकै अवस्थामा जन्मभूमि बिर्सिन हुँदैन भन्दै उनी जन्मघर पुगिरहन्थे । उनका छोरा सुनीलबहादुर थापाले २०५८ सालसम्म बुवा र आफूहरू मुगाको घरमा आउजाउ गर्ने गरेको स्मरण गरे । तत्कालीन किराँत वर्कर्स पार्टीका कार्यकर्ताले घरमा आगो लगाइदिए । अहिले पूर्वप्रधानमन्त्री थापा मुगा गएर बस्ने घरको नामनिसान छैन । सूर्यबहादुर थापा ट्रस्टको नामबाट पुरानै शैलीको घर बनाउने भनिएको बर्सौं भए पनि अहिलेसम्म निर्माण थालिएको छैन ।

पाख्रिबास नगरपालिका–८, मुगामा पूर्वप्रधानमन्त्री थापासँगै अजितनारायणसिंह थापा, अर्जुन थापा, सुनीलबहादुर थापा, कुमार थापा पनि मुगामै जन्मिएका हुन् । प्रायः सबै थापा परिवारको घर मुगामा दरबारिया शैलीमा निर्माण भएका थिए तर पछिल्लो समय ती घर नासिने क्रममा छन् । अजितनारायणसिंह थापा र अर्जुन थापाको घर पनि संरक्षण अभावमा जीर्ण बनेका छन् ।

स्थानीय चन्द्रमणि घिमिरेले पुराना घर संरक्षणमा नयाँ पुस्ताले चासो नदिएका कारण मुगामा ऐतिहासिक घर मासिने क्रम बढेको बताए । उनले भने, पुराना पुस्ता अहिले छैनन् । नयाँ पुस्ता काठमाडौँ, विराटनगर र विदेश पुगेका छन् । अनि यहाँ कसले हेरिदिने, संरक्षण गरिदिने ?

स्थानीय कपिल थापाका अनुसार बसाइँसराइका कारण घर कुरिदिने कोही नहुँदा ऐतिहासिक घरको संरक्षण हुन नसकेको हो । उनले पुरातात्त्विक सम्पदाको संरक्षण र प्रचारमा कसैको ध्यान नपुग्दा मुगा गाउँ नै ओझेलमा परेको बताए ।

आन्तरिक पर्यटक पुगिरहने मुगा अहिले सुनसान छ । पहिले मुगामा निकै चहलपहल हुन्थ्यो तर ‘थापाकाजी’ हरू विस्थापित भएसँगै गाउँमा चहलपहल छैन । थापाहरूले गाउँ छाडे पनि स्थानीय सरकारले बाँकी रहेका संरचना जोगाएर सडक बनाइदिए पर्यटक फर्काउन सकिने विश्वास स्थानीयको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *