बिमाको औषधी पाउनै मुस्किल

सरकारी अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १३३ किसिमका औषधी निःशुल्क पाउने व्यवस्था छ तर स्वास्थ्य बिमा गराएका बिरामीले बिमा सुविधामार्फत औषधी पाउन निकै मुस्किल छ ।

सरकारी अस्पतालका फार्मेसीमा औषधी नपाउँदा धेरै प्रकारका औषधी बाहिरका फार्मेसीमा महँगो मूल्यमा खरिद गर्न बिरामी बाध्य छन् ।

केही समयअघि वीर अस्पतालमा गोपाल शर्माको प्रोस्टेटको शल्यक्रिया हुँदा सात सयको औषधी स्वास्थ्य बिमामार्फत प्राप्त भए पनि १० हजारको औषधी बाहिरबाट ल्याउनु परेको थियो । उनले स्वास्थ्य बिमा नाम मात्रको रहेको गुनासो गर्दै भने, बिमामार्फत उपचार गर्दा सबै औषधी बाहिरबाट खरिद गरेर ल्याएपछि स्वास्थ्य बिमा गरेको छ भन्ने अर्थ भएन ।

वीर अस्पतालको फार्मेसीमा कार्यरत एक फर्मासिस्टका अनुसार वीरको फार्मेसीमा स्वास्थ्य बिमाको औषधी पाउन मुस्किल छ । केही समयअघि टेन्डर गरिएको थियो । टेन्डर गरे पनि पूरा औषधी आउन सकेको छैन । उनले वीरमा औषधी ल्याउन व्यापारी पनि डराएको बताए । व्यापारीले सामानको पैसा नपाएपछि औषधी ल्याउन छाडेको उनको भनाइ छ ।

वीर अस्पतालका प्रवक्ता मोहन कोइरालाले स्वास्थ्य बिमामार्फत निःशुल्क दिनुपर्ने कतिपय औषधी नपाएको हुन सक्ने बताए । उनले औषधी खरिदका लागि टेन्डरको प्रव्रिmयामा रहेकाले समस्या भएको बताए। सरकारी अस्पतालमा औषधी खरिदका लागि प्रक्रिया पु(याउनै समस्या भएकाले ढिलाइ हुन सक्छ, अब टेन्डर भएपछि सहज हुन्छ । वीर अस्पतालमा औषधी खरिदका लागि टेन्डर प्रव्रिmया अगाडि बढिसकेको उनको भनाइ छ ।

स्वास्थ्य बिमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले स्वास्थ्य बिमामार्फत एक हजार १३३ किसिमका औषधी स्वास्थ्य बिमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बिमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् । कँडेलले भनिन्, आँखा, मुटुलगायतका स्पेसल अस्पतालहरूमा भने सबै प्रकारको औषधी नपाइन सक्छ, आँखा अस्पतालमा आँखासम्बन्धी मात्र औषधी पाइन्छ भने मुटु अस्पतालमा मुटुसम्बन्धी मात्र औषधी पाइन्छ ।

भक्तपुर क्यान्सर अस्पतालमा पनि स्वास्थ्य बिमाले सूचीकृत गरेका सबै औषधी पाइँदैनन् । अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरसम्बन्धी औषधी पाइने जानकारी दिए । उनले जनरल औषधी भने नपाउने गरेको बताउनुभयो । व्यापारीलाई पहिलेकै पेमेन्ट गर्नुपर्ने भएकाले औषधी नपाएको हुन सक्ने उनकोे भनाइ छ ।

स्वास्थ्य बिमा बोर्डले आगामी भदौ महिनादेखि एक हजार १३३ बाट बढाएर एक हजार २९० प्रकारका औषधी निःशुल्क पाउने व्यवस्था गरेको छ । सूचना अधिकृत कँडेलले कोही बिमितले औषधी नपाएको गुनासो लिएर बिमा बोर्डमा आएमा त्यस्ता अस्पतालमा अनुगमन गरेर सम्झौता नै रद्द गर्न सकिने बताए । कँडेलले वीर अस्पताल, शिक्षण अस्पताल जस्ता ठुला अस्पतालमा औषधी नपाएमा बोर्डमा आएर गुनासो गर्न आग्रह गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *