वर्षाले सडक बन्द भएपछि सुनसान बने घरबास

वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै घरबासमा पाहुनाको आगमन नहुँदा सुनसान बनेका हुन् ।

हिउँदको समयमा बढी चहलपहल हुने घरबासमा यति बेला पाहुनााको संख्या शून्य छ । जिल्लाका ग्रामीण क्षेत्रमा घरबास बढी सञ्चालनमा छन् । अधिकांश घरबासमा पुग्ने सडक बाढी र पहिरोले ठप्प भएका छन् । वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडक असोज पछाडि मात्रै खुल्छन् ।

अधिकांश सडक कच्ची भएको हुँदा यात्रा गर्नसमेत असहज हुने हुँदा पाहुना घरबासमा पुग्न चाहँदैनन् । वर्षाले सडक तथा पदमार्ग हिलाम्मे बन्दा घरबाससँगै पर्यटकीयस्थल सुनसान भएका बागलुङ नगरपालिका–१० भकुण्डेका अतिथी सत्कार होमस्टे सञ्चालक यामबहादुर थापा मगरले बताए ।

‘जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको भकुण्डेमा पनि पर्यटक पुग्न सकेका छैनन् । घरबासमा पाहुना आउनछोडेपछि सञ्चालक खेतबारीको काममा व्यस्त छन् । सडक नियमित सञ्चालन नहुँदासम्म गाउँमा पाहुना आउने अवस्था रहँदैन,’ उनले भने ।

जेठ अन्तिम सातासम्म फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले शून्य भएको मगरले बताउनुभयो । आन्तरिकसँगै विदेशी पर्यटकसम्म आउने गरेको र वर्षाले सडक बिगारेपछि अहिले कोही पनि नआएको उनको भनाइ छ । हिउँदमा मासिक करिब दुई हजारदेखि तीन हजारसम्मको संख्यामा पाहुना भकुण्डे पुग्ने गरेका थापाले जानकारी दिए ।

‘बर्खामा गाउँसम्म पुग्ने बाटो ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ । करिब दुई-तीन महिना यहाँका घरबास र पर्यटकीय क्षेत्र खाली हुन्छन् । पदमार्ग र पूर्वाधारको अवस्थाका कारण असार लागेपछि पाहुनाको संख्या शून्य भएको हो,’ उनले भने ।

काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासमा पनि असार लागेपछि पाहुनाा पुग्न छोडेका छन् । बागलुङ बजारबाट पश्चिममा पर्ने यो घरबासमा हिउँदका बेला मासिक दुई हजारदेखि तीन हजारसम्म पाहुना आउने गरेकामा अहिले सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासकी सचिव माया घर्ती पुनले बताइन् । असोज लागेपछि मात्रै पर्यटकको आगमन बढ्ने उनले बताइन् ।

वर्षाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो जाँदा गाडी सञ्चालन हुन नसकेको घर्तीले बताइन् । पर्यटक आउन छोडेपछि अधिकांश अहिले आलु खन्ने, कोदो रोप्ने र पशुपालनमा व्यस्त रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *