कोशी प्रदेशमा हात्तीको आक्रमणबाट एक वर्षमा १० जनाको मृत्यु, २५ घाइते

गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँचवटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिए । उनले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताए ।

‘झापाको मेचीनगर नगरपालिका-४ स्थित प्रसाद गौडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५ भन्दा बढी हात्तीको समूहले ठूलो धनजनको क्षति गरेको थियो । सोही अवधिमा झापामा चार वटा र मोरङमा एउटा हात्ती मरेका थिए,’ प्रवक्ता दाहालले भने । उनले एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट झापामा १४, इलाममा एक, मोरङमा तीन, सुनसरीमा पाँच र उदयपुरमा दुई गरी २५ जना घाइते भएको जानकारी दिए ।

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेलाई सरकारले १० लाख रूपैयाँ क्षतिपूर्तिस्वरूप प्रदान गर्दै आएको छ । घाइतेको उपचारका लागि २५ हजारदेखि एक लाख रूपैयाँसम्म उपलब्ध गराउँदै आइएको डिभिजन वन कार्यालय, झापाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर