देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्ने कुरा राम्रोसँग जानकारी मिलेको बताएका छन् ।

बिहीबार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उनले सरकारमा ४ महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्ने कुरा राम्रोसँग बुझ्न पाएको बताए । उनले गोपनीयताको शपथ ग्रहण गरेकाले सबै कुरा भन्न नमिल्ने भन्दै सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्ने कुराको जानकारी पाएको बताए ।

उनले पुराना राजनीतिक दलहरूसँगसँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताए । २१ जना भ्रष्टहरूलाई संसदमा जान रोकेर आफूहरूले राम्रा मान्छे ल्याएको दाबी उनको छ ।

‘अघिल्लो पटक पर्याप्त थिएन । ३४ दिन म (गृहमन्त्री) भएँ । अरू साथीहरू २४ दिनजति (मन्त्री) हुनुभयो । त्यो कुनै पर्याप्त समय नै थिएन । अहिले जुन चार महिनाको अवधि हामी सरकारमा बस्यौं, यो अवधिले अब चाहिँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ,’ सभापति लामिछानेले भने, ‘पद र गोपनीयताको शपथ खाएका छौं सबै कुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौं । यो ठूलो पाठ सिकेका छौं । यसबाट राज्यलाई घाटा लगाएका छैनौं । राज्यलाई अफ्ठ्यारोमा पारेका छैनौं । २१ जना भ्रष्टहरूलाई रोकेर हामी संसदमा आएका छौं ।’

उनले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरू आएको भन्दै सरकारमा गएर नै सरकारभित्रका गल्तीहरू बुझिने बताए ।

‘नयाँ राजनीतिक दल भएर सरकारमा किन गएको भन्छन् । सरकारमा किन गएको भनेको भन्यै छन्,’ उनले भने, ‘पुराना राजनीतिक दलहरू सँगसँगै उभिँदाखेरि गल्ती केही नगर्दा पनि गाली खानेबाहेक केही काम भएन । तर हामीलाई त केही सिक्नु थियो । हामीले त केही गर्नु थियो । हामीलाई त हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नका लागि सिंहदरबार कसरी चल्दैछ भन्ने कुरा हेर्नै पर्छ ।’

फरक प्रसंगमा सभापति लामिछानेले शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गर्न जरूरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *