पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमताबृद्धिको सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल हुनेछ ।

त्यस्तै झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमा छलफल, चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्य योजनाको प्रगति समीक्षा तथा समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ः३० बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ । बैठकमा आदिवासी जनजाति समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *