वाइवाइद्वारा नेपाली पुरूष क्रिकेट टोलीलाई १० लाख रूपैयाँ हस्तान्तरण

चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टी-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप सीजी फुड्सले गरेको घोषणाअनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहनस्वरूप वाइवाइले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । त्यसैगरी सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रूपैयाँ उपलब्ध गराउने वाइवाइको घोषणा थियो ।

सोहीअनुसार नेपाली क्रिकेट टिमले पाएको नतिजाअनुसार रकम हस्तान्तरण गरिएको हो । घोषण बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनअनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरूको २ लाख १६ हजार, छक्काहरूको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकामा उक्त रकममा ५६ हजार रूपैयाँ थप गरी हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले नेपालले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको र नेपाली टिम बधाईको पात्र रहेको बताए । उनले नेपालको क्रिकेटमा हुनुपर्ने जति विकास हुन नसकेको भन्दै अब खेलकुदमा केही हुने लक्षण देखिएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले विश्वकपमा गरेको प्रदर्शन नेपाली टिमलाई माया गरेको नतिजा भएको बताए । नेपाली टिमले विश्वकपमा राम्रो प्रदर्शन गरेको उनले बताए । उनले नेपाली क्रिकेट टिमले आगमी दिनमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरे । उनले सीमित स्रोतसाधनका बीच नेपालले गरेको प्रदर्शन उच्च रहेकाले टिमलाई दबाब दिन नहुने बताए ।

कार्यक्रममा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेटलाई हौसला प्रदान गर्नका लागि सीजी ग्रुपले गरेको सहयोग उच्च रहेको बताए । उनले खेलाडीका लागि यस्ता प्रोत्साहनले ऊर्जा आउने बताए । उनले विश्वकपमा नेपालले आफूले सकेको प्रदर्शन गरेको र आफूहरू त्यसमा सन्तुष्ट रहेको बताए । उनले नेपाली टोलीले आगामी दिनमा झनै राम्रो खेल खेलेर समर्थकलाई खुसी पार्ने बताए ।

नेपाल आईसीसी टी-२० विश्वकप खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अण्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अण्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजनबापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी ६० लाख रूपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *