परराष्ट्रमन्त्रीमा आरजुको नियुक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि किन छ लाभदायक ?

राजनीति र समाजसेवामा लामो समयदेखि सक्रिय डा. आरजु राणा देउवा कांग्रेस र एमालेको गठबन्धन सरकारमा परराष्ट्रमन्त्री नियुक्त भएकी छन् ।

आज शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । राणा चौथो महिला परराष्ट्रमन्त्री पनि बनेकी छन् । यसअघि नेपालमा सहाना प्रधान, सुजाता कोइराला र डा. विमला राई पौड्यालले सो मन्त्रालय सम्हालिसकेका छन् । राणा पहिलोपटक मन्त्री बनेकी हुन् । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी उनी समानुपातिकतर्फबाट सांसद छिन् । अन्तर्राष्ट्रिय सम्बन्धकी जानकारसमेत रहेकी राणाको गैरसरकारी संस्थामार्फत महिला सशक्तीकरणको क्षेत्रमा पनि सक्रिय छिन् । काठमाडौंको सेन्टमेरिज स्कुलबाट विद्यालय शिक्षा हासिल गरेकी उनी सानैदेखि पढाइमा तेज थिइन् । राणा परिवारकी छोरी उनको परिवारमा पणइको माहोल थियो, जसले उनलाई पढाइमा प्रेरित गरेको थियो ।

राणाले भारतको पञ्जाबस्थित चण्डीगढबाट नेपाल भारतको कर्पोरेट व्यवसायमा महिला सहभागितामाथि पीएचडी गरेकी छन् । त्यसयता उनी निरन्तर रुपमा राजनीति र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत थिइन् । राजनीतिमा सक्रिय उनकी आमा प्रतिभा राणा जापानका लागि पूर्वनेपाली राजदूत पनि हुन् । कांग्रेसको १४औं महाधिवेशनमा राणाले महिला खुलातर्फ केन्द्रीय सदस्यको चुनाव जितेकी थिइन् । उनले २०८० भदौमा संसद्को कृषि समितिको सभापति बनिन् ।

सन् १९६२ जनवरी २६ मा जन्मिएकी आरजु २०५३ सालदेखि राजनीतिमा प्रवेश गरेकी हुन् । २०७९ सालमा सम्पन्न नेपालको प्रतिनिधि सभा निर्वाचनबाट उनी खस÷आर्य वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएकी हुन् । उनी २०६४ सालदेखि २०७४ सम्म दुई पटक नेपालको संविधानसभा र नेपालको व्यवस्थापिका संसदको सदस्य थिइन् । उनले नेपालको संविधान लेख्दा सबै तहमा महिलाको हक, विशेषगरी प्रजनन अधिकार, समान नागरिकता, समान सम्पत्तिको हक, महिलामाथि हुने हिंसा, महिलाको समतामूलक र समान राजनीतिक प्रतिनिधित्व जस्ता विषयलाई उठान गरेकी थिइन् । उनी संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समितिको अध्यक्ष पनि भइन् । उनी लैंगिक अभियन्ता र सामाजिक कार्यकर्ता हुन् र नेपालमा महिला र बालबालिकासँग सम्बन्धित धेरै एनजीओहरू स्थापना गरेकी छन्, जसमा आरयूडब्ल्यूडीयूसी, साथी, एसएमएनएफ, सामन्तालगायत छन् । उनले आयूसीएनका लागि दक्षिण र पूर्वी एसियाका लागि निर्वाचित क्षेत्रीय काउन्सिलरको रूपमा सेवा गरिन् । हाल भारतमा सत्तामा रहेको भाजपा नेतृत्वसँग पनि आरजुको सम्बन्ध राम्रो मानिन्छ ।

त्यही कारण उनी परराष्ट्रमन्त्री बन्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भारतसँगको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राणा मन्त्री बनेसँग भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरले बधाई दिउका छन् । उनले दुई देशबीचको बहुआयामिक साझेदारीर्ला अघि बढाउनका लागि मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् । मन्त्री राणालाई नेपालका छिमेकी देशहरु भारत, चीनसँगको सम्बन्धमा सन्तुलन र कूटनीतिक स्थिरता, राजदूत व्यवस्थापन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका वृद्धिलगायत क्षेत्रमा काम गरेर देखाउनुपर्ने चुनौती छ । यस्तै, रुसी सेनामा भर्ती भएका नेपालीको फिर्ता, त्यहाँ मृत्यु भएका नेपालीलाई क्षतिपूर्तिलगायत क्षेत्रमा काम उनको कार्यकालमा अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर